युएईमा जारी सातौं संस्करणको टी-ट्वान्टी विश्वकपमा समूह १ बाट इङ्ल्यान्ड र अस्ट्रेलिया सेमिफाइनलमा प्रवेश गरेका छन्।
शनिबार समूहको अन्तिम खेलमा दक्षिण अफ्रिकासँग १० रनले पराजित भए पनि इङ्ल्यान्ड राम्रो रनरेटका आधारमा समूह विजेता हुँदै अन्तिम चारमा प्रवेश गरेको हो।
त्यस्तै आजै भएको पहिलो खेलमा वेष्ट इन्डिजलाई ८ विकेटले हराएको अस्ट्रेलिया पनि नेट रनरेटमा अफ्रिकालाई पछि पार्दै सेमिफाइनलमा प्रवेश गर्यो।
समूह १ को अन्तिम तथा महत्वपूर्ण खेलमा दक्षिण अफ्रिकाले दिएको १९० रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७९ रन मात्र बनायो।
विशाल योगफल तयार पारेको अफ्रिकाका लागि सेमिफाइनलमा पुग्न इङ्ल्यान्डलाई १३१ रनभन्दा कम योगफलमै समेट्नुपर्ने थियो। तर उक्त रनमा रोक्न नसके पनि समूहको अन्तिम खेलमा इङ्ल्यान्डलाई हरायो।
अफ्रिकाको जितमा अन्तिम ओभरमा रबाडाले ह्याट्रिक विकेट लिए।
इङ्ल्यान्डका लागि मोइन अलीले सर्वाधिक ३७ रन बनाउँदा ड्वीन मालानले ३६ तथा जोस बटलरले २६ रन जोडे। लिभिङस्टोनले २७ रन बनाउँदा कप्तान इयान मोर्गनले १७ रन जोडे।
इङ्ल्यान्डलाई रोक्न अफ्रिकाका लागि रबाडाको ह्याट्रिकबाहेक ड्वेन प्रेटोरियस र साम्सीले २-२ तथा नर्टेजले १ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङको मौका पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १८९ रन बनाएको थियो।
उसका लागि भानदर दुसेनले उत्कृष्ट पारी खेले। उनले ६० बलमा ५ चौका र ६ छक्कासहित अविजित ९४ रन बनाए। त्यस्तै, एडम मार्कमले २४ बलमा २ चौका र ४ छक्कासहित नटआउट ५२ रनको योगदान दिए।
त्यस्तै, क्विन्टन डिककले ३४ रन बनाउँदा ओपनर रीजा हेन्ड्रिक्स २ रनमै आउट भए। बलिङमा आदिल राशिद र मोइन अलीलले एक/एक विकेट लिएका थिए।
सेमिफाइनलमा पुग्ने तीन टोलीको टुंगो लाग्यो
जारी विश्वकपमा सेमिफाइनलमा पुग्ने चारमध्ये तीन टोलीको टुंगो लागेको छ।
समूह १ बाट इङ्ल्यान्ड र अस्ट्रेलिया तथा समूह २ बाट पाकिस्तान सेमिफाइनलमा प्रवेश गरेका छन्। अब समूह २ बाट न्यूजिल्यान्ड, अफगानिस्तान र भारतमध्ये एक टोली सेमिफाइनलमा प्रवेश गर्नेछ।
समूह १ मा इङ्ल्यान्ड, अस्ट्रेलिया र दक्षिण अफ्रिका सबैले ५ खेलमा ४ खेल जिते पनि नेट रनरेटका आधारमा अस्ट्रेलिया र इङ्ल्यान्ड अन्तिम चारमा प्रवेश गरे।