युएईमा जारी सातौं संस्करणको आईसिसी टी ट्वान्टी विश्वकपको सेमिफाइनल समिकरण पुरा भएको छ। समूह १ बाट इङ्ल्याण्ड र अष्ट्रेलिया तथा समूह २ बाट पाकिस्तान र न्यूजिल्याण्ड सेमिफाइनलमा प्रवेश गरेका छन्।
सुपर-१२ चरणमा लगातार पाँचौं जित दर्ता गर्दै पाकिस्तान समूह ‘२’ को विजेताको रूपमा टी-२० विश्वकपको सेमिफाइनल प्रवेश गरेको छ। न्युजिल्यान्ड समूह ‘२’ को उपविजेताको रूपमा सेमीफाइनल पुग्यो।
यस्तै समूह १ बाट इङ्ल्याण्ड समूह विजेता र अष्ट्रेलिया उपविजेताका रूपमा अन्तिम चारमा पुगेका हुन्।
योसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पनि पुरा भएको हो। पहिलो सेमिफाइनलमा समूह ‘१’ को विजेता इंग्ल्यान्डले समूह ‘२’ को उपविजेता न्युजिल्यान्डसँग बुधबार अबुधाबीमा प्रतिस्पर्धा गर्नेछ।
यस्तै दोस्रो सेमिफाइनलमा समूह २ को विजेता पाकिस्तान र समूह ‘१’ को उपविजेता अस्ट्रेलिया बिहिबार दुबईमा प्रतिस्पर्धा गर्नेछन्।
फाइनल खेल आगामी आइतबार दुबईमा हुनेछ।
टी-२० विश्वकप : भारतको ९ वर्ष यताकै खराब नतिजाआइसिसी टी-२० विश्वकप २०२१ को दाबेदार मानिएको भारत सुपर १२ बाटै बाहिरिएको छ।
पहिलो खेलमा पाकिस्तान र दोस्रो खेलमा न्युजिल्यान्डसँग पराजित भएपछि भारतको सेमिफाइनल यात्रा अन्य टिमको हात पुगेको थियो।
जसमा न्युजिल्यान्डले लगातार चार जित हात पार्दै अन्तिम चारमा स्थान पक्का गरेपछि भारतको सेमिफाइनल यात्रा समाप्त भएको छ।
भारतले सुपर १२ अन्तर्गत आफ्नो अन्तिम खेलमा नामिबियासँग खेल्दैछ। तर यो खेलअघि नै भारतको अन्तिम चारको यात्रा समाप्त भयो।
सुपर १२ अन्तर्गत समूह २ मा शतप्रतिशत जित निकाल्दै पाकिस्तान ५ खेलबाट १० अंक जोडेको छ भने न्युजिल्यान्डले ५ खेलबाट ८ अंक जोड्दै समूहको उप विजेता भएको हो। यस्तै भारतको ४ खेलबाट २ जितसहित ४ अंक जोडेको छ।
टी-२० विश्वकपमा भारतको यो सन् २०१२ यताकै खराब नतिजा हो। सन् २०१२ को विश्वकपमा सुपर ८ बाट बाहिएको भारत पछिल्ला दुई विश्वकपमा नकआउट चरणमा पुगेको थियो।
सन् २०१४ को विश्वकपको फाइनलमा श्रीलंकासँग पराजित हुँदा भारत उपाधिबाट विमुख बनेको थियो। सन् २०१६ को विश्वकपमा भरत सेमिफाइनलमा वेस्ट इन्डिजसँग हारेको थियो।
भारतको टी-२० विश्वकपको नतिजा
- २०२१ - सुपर १२ बाट बाहिर
- सन् २०१६- सेमिफाइनलमा वेस्ट इन्डिजसँग ७ विकेटले पराजित
- सन् २०१४ - फाइनलमा श्रीलंकासँग ६ विकेटले पराजित
- सन् २०१२ -सुपर ८ बाट बाहिर
- २०१० -सुपर ८ बाट बाहिर
- सन् २००९- सुपर ८ बाट बाहिर
- सन् २००७ -पाकिस्तानलाई ५ विकेटले हराउँदै च्याम्पियन