सुपर १२ को अन्तिम खेलमा पाकिस्तानले स्कलल्याण्डलाई ७२ रनले हराएको छ।
पहिले ब्याटिङ गर्दै पाकिस्तानले दिएको १९० रनको लक्ष्य पछ्याएको स्कटल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ११७ रन मात्र बनाउन सक्यो।
उसका लागिरिची बेरिंगटनले सर्वाधिक ५४ रन बनाए। ३७ बल खेलेका उनले ४ चौका र १ छक्का प्रहार गरे। यस्तै जर्ज मुनसेले १७ तथा माइकल लिस्कले १४ रन बनाए। बाँकी कुनै पनि ब्याट्मेनले दोहोरो रन बनाउन सकेनन्।
पाकिस्तानका लागि शदाव खानले २ विकेट लिए। यस्तै शाहिन अफ्रिदी, हसन अलि र हरिस रौफले समान एक-एक विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ४ विकेट गुमाउँदै १८९ रन बनाएको थियो। पाकिस्तानका लागि कप्तान कप्तान बाबर आजमले सर्वाधिक ६६ रन बनाए। ४७ बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहार गरे। यस्तै शोयब मलिकले विस्फोटक ब्याटिङ गर्दै मात्र १८ बलमा ६ छक्का र १ चौका मद्दतले अविजित ५४ रन बनाए। मोहम्मद हफिजले ३१ तथा मोहम्मद रिजवानले १५ रन जोडे।
स्कटल्याण्डका लागि क्रिस ग्रिभ्सले २ तथा हम्जा ताहिर र सफ्यान सरिफले समान एक-एक विकेट लिए।
मलिकको कीर्तिमान:
विस्फोटक ब्याटिङ गरेका शोयब मलिकले २० औं ओभरको अन्तिम बलमा क्रिस ग्रिभ्सलाई छक्का प्रहार गर्दै अर्धशतक पुरा गरे। उनले मात्र १८ बलमा अर्धसतक पुरा गरे। यो टी-२० विश्वकप इतिहासकै संयुक्त रूपमा तेस्रो छिटो तथा टी-२० अन्तर्राष्ट्रियमा पाकिस्तानी ब्याट्सम्यानको सबैभन्दा छिटो अर्धशतक हो। यसअघि पाकिस्तान ब्याट्सम्यानको छिटो अर्धशतक उमर अकमालको नाममा थियो। उनले २१ बलमा सन् २०१० मा अस्ट्रेलियाबिरुद्ध उक्त रेकर्ड बनाएका थिए।
ग्लेन म्याक्सवेलले २०१८ मा तथा केएल राहुलले जारी विश्वकपमा समान १८ बलमा अर्धशतक बनाएका थिए। सबैभन्दा छिटो युवराज सिंहले २००७ मा इंग्ल्यान्ड बिरूद्ध १२ बलमा तथा स्टेफेन माइबर्गले दोस्रो छिटो २०१४ मा आयरल्याण्ड बिरूद्ध १७ बलमा अर्धशतक बनाएका थिए।
विश्वकप टी २० मा छिटो अर्धसतक बनाउनेहरू
- १२ बल- युवराज सिंह (भारत) विरूद्ध इङ्ल्याण्ड २००७
- १७ बल- स्टेफेन माइबर्ग (नेदरल्याण्ड) विरूद्ध आयरल्याण्ड २०१४
- १८ बल- शोहेब मलिक (पाकिस्तान) विरूद्ध स्कटल्याण्ड २०२१
- १८ बल- ग्लेन म्याक्सवेल (अष्ट्रेलिया) विरूद्ध पाकिस्तान २०१४
- १८ बल- केएल राहुल (भारत) विरूद्ध स्कटल्याण्ड २०२१
युएईमा जारी सातौं संस्करणको आईसिसी टी ट्वान्टी विश्वकपको सेमिफाइनल समिकरण पुरा भएको छ।
समूह १ बाट इङ्ल्याण्ड र अष्ट्रेलिया तथा समूह २ बाट पाकिस्तान र न्यूजिल्याण्ड सेमिफाइनलमा प्रवेश गरेका छन्।
सुपर-१२ चरणमा लगातार पाँचौं जित दर्ता गर्दै पाकिस्तान समूह ‘२’ को विजेताको रूपमा टी-२० विश्वकपको सेमिफाइनल प्रवेश गरेको छ। न्युजिल्यान्ड समूह ‘२’ को उपविजेताको रूपमा सेमीफाइनल पुग्यो।
यस्तै समूह १ बाट इङ्ल्याण्ड समूह विजेता र अष्ट्रेलिया उपविजेताका रूपमा अन्तिम चारमा पुगेका हुन्।
योसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पनि पुरा भएको हो। पहिलो सेमिफाइनलमा समूह ‘१’ को विजेता इंग्ल्यान्डले समूह ‘२’ को उपविजेता न्युजिल्यान्डसँग बुधबार अबुधाबीमा प्रतिस्पर्धा गर्नेछ।
यस्तै दोस्रो सेमिफाइनलमा समूह २ को विजेता पाकिस्तान र समूह ‘१’ को उपविजेता अस्ट्रेलिया बिहिबार दुबईमा प्रतिस्पर्धा गर्नेछन्।
फाइनल खेल आगामी आइतबार दुबईमा हुनेछ।