अस्ट्रेलियन क्रिकेट टिमले आगामी मार्चमा पाकिस्तान भ्रमण गर्ने भएको छ। भ्रमणका दौरान अस्ट्रेलिया र पाकिस्तानबीच तीन टेस्ट, तीन एकदिवसीय र एक टी-२० खेल हुनेछ।
खेल कराँची, रावलपिण्डी र लाहोरमा हुनेछन्। तीनै भेन्यूमा एक एक टेस्ट हुनेछन्। लाहोरमा एकदिवसीय र टी-२० खेल हुनेछ।
दुई टिमबीचको सिरिज जारी टी-२० विश्वकपको सेमिफाइनल खेलअघि सार्वजनिक गरिएको हो। दुई टिमबीच टी-२० विश्वकपअन्तर्गत दुबईमा सेमिफाइनल खेल हुनेछ।
अस्ट्रेलियाले पछिल्लो पटक सन् १९९८ मा पाकिस्तान भ्रमण गरेको थियो।
अस्ट्रेलियाले पाकिस्तान भ्रमण गर्ने भएपछि पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष रमिज राजाले खुसी व्यक्त गरेका छन्। उनले अस्ट्रेलियन टिमले ठूलो सम्मान पाउने बताएका छन्।
यसअघि गत महिना न्युजिल्यान्डले पाकिस्तान पुगेर सिरिज नखेली फर्किएको थियो।
सुरक्षाको कारण देखाउँदै न्युजिल्यान्ड क्रिकेट नखेली स्वदेश फर्किएको थियो। लगत्तै इंग्ल्यान्डले पनि पाकिस्तान भ्रमण स्थगित गरेको थियो।