नामिबियाबिरूद्ध सहज जित निकाल्दै भारतले युएईमा जारी टी-ट्वान्टी विश्वकप २०२१ को सुखद अन्त्य गरेको छ।
प्रतियोगितामा सुरुआती दुई खेलमा लगातार हार व्यहोरेको भारतले पछिल्ला तीन खेलमा सहज जित निकालेको हो। पहिलो दुई खेलमा पाकिस्तान र न्युजिल्यान्डसँग पराजित भएको भारतले अफगानिस्तान, स्कटल्याण्ड र नामिबियालाई हराए पनि समूहचरणबाटै बाहिरिएको हो।
पाकिस्तान र न्युजिल्यान्ड समूह ‘२’ बाट सेमिफाइनलमा पुगेका छन्।
दुबई अन्तर्राष्ट्रिय स्टेडियममा सोमबार राति नामिबियाले दिएको १३३ रनको सामान्य लक्ष्य भारतले १५.२ ओभरमा १ विकेट गुमाएर पुरा गर्यो।
भारतलाई सहज जित दिलाउन ओपनरद्वय रोहित शर्मा र के एल राहुलले सतकीय इनिङ्स खेले। ३७ बलमा ७ चौका र २ छक्का मद्दतले शर्माले सर्वाधिक ५६ रन बनाए। यस्तै राहुलले अविजित ५४ रन बनाए जुन क्रममा ३६ बलमा ४ चौका र २ छक्का प्रहार गरे। सूर्यकुमार यादवले अविजित २५ रन बनाए।
ओपनर रोहित र राहुलले ९.५ ओभरमा ८६ रनको साझेदारी गर्दै सहज जितको आधार तयार गरे। रोहित दशौँ ओभरमा आउट भएपछि राहुल र यादवले अविजित ५० रनको साझेदारी गर्दै टिमलाई अन्तिम जित दिलाए।
नामिबियाका लागि जान फ्राईलिंकले १ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्ता पाएको नामिबियाले २० ओभरमा ८ विकेट गुमाउँदै १३२ रन बनाएको थियो। उसको लागि डेभिड विजाले सर्वाधिक २६ रन बनाए भने स्टेफेन बार्डले २१, जान फ्राईलिंकले अविजित १५, माइकल भान लिंगेनले १४, रूबेन ट्रंपलम्यानले अविजित १३ तथा जेरार्ड इरास्मसले १२ रन बनाए।
भारतका लागि रभीचन्द्रन आश्विन र रभीन्द्र जडेजाले समान तीन-तीन विकेट लिए। जस्प्रित बुम्राहले २ विकेट लिएका थिए।
भारत ९ वर्षपछि पहिलो पटक आईसीसीको प्रतियोगिताको सेमिफाइनल पुग्न असफल रह्यो। पाकिस्तान र न्युजिल्यान्डसँग पराजित भएको भारतले अफगानिस्तान, स्कटल्याण्ड र नामिबियालाई सहजै पराजित गरे पनि अर्को चरण पुग्न पर्याप्त रहेन।
सुपर १२ अन्तर्गत समूह २ मा शतप्रतिशत जित निकाल्दै पाकिस्तान ५ खेलबाट १० अंक जोडेको छ भने न्युजिल्यान्डले ५ खेलबाट ८ अंक जोड्दै समूहको उप विजेता भएको हो। यस्तै भारतको ५ खेलबाट ३ जितसहित ६ अंक जोडेको छ।
टी-२० विश्वकपमा भारतको यो सन् २०१२ यताकै खराब नतिजा हो। सन् २०१२ को विश्वकपमा सुपर ८ बाट बाहिएको भारत पछिल्ला दुई विश्वकपमा नकआउट चरणमा पुगेको थियो।
सन् २०१४ को विश्वकपको फाइनलमा श्रीलंकासँग पराजित हुँदा भारत उपाधिबाट विमुख बनेको थियो। सन् २०१६ को विश्वकपमा भरत सेमिफाइनलमा वेस्ट इन्डिजसँग हारेको थियो।
भारतको टी-२० विश्वकपको नतिजा
- २०२१ - सुपर १२ बाट बाहिर
- सन् २०१६- सेमिफाइनलमा वेस्ट इन्डिजसँग ७ विकेटले पराजित
- सन् २०१४ - फाइनलमा श्रीलंकासँग ६ विकेटले पराजित
- सन् २०१२ -सुपर ८ बाट बाहिर
- २०१० -सुपर ८ बाट बाहिर
- सन् २००९- सुपर ८ बाट बाहिर
- सन् २००७ -पाकिस्तानलाई ५ विकेटले हराउँदै च्याम्पियन