भारतले यहि महिनाको अन्त्यमा हुने न्युजिल्यान्डविरूद्धको टी-२० सिरिजका लागि घोषणा गरेको टिममा आइसिसी टी-२० विश्वकप २०२१ खेलेका ७ खेलाडी मात्र समावेश गरेको छ।
गत जुनमा इंग्ल्यान्ड भ्रमणदेखि लगातार क्रिकेट खेलेका अन्य खेलाडीलाई भने आराम दिइएको छ।
विश्वकप खेलेका रोहित शर्मा, केएल राहुल, रिशव पन्त, रविचन्द्रन आस्विन, इशान किसन, भुवनेश्वर कुमार र सूर्यकमार यादव मात्र भारतीय टिममा छन्। यसअघि विराट कोहलीले विश्वकपपछि कप्तान छाड्ने निर्णय गरेका कारण रोहित शर्मालाई कप्तान बनाइएको छ भने केएल राहुल उपकप्तान छन्।
विराटसहित जसप्रित बुमराह, रविन्द्र जडेजा र मोहमद सामी जस्ता पहिलो रोजाइका खेलाडीलाई आराम दिइएको छ। यस्तै अलराउन्डर हार्दिक पाण्ड्या र तीव्र गतिका बलर शार्दूल ठाकुर पनि टिममा छैनन्।
टिममा वेंकटेश अय्यर, आभेस खान र हर्षल पटेलले पहिलो पटक स्थान पाएका छन्।
श्रेयस अय्यर, मोमहद सिराज र युजभेन्द्र चाहाल टिममा फर्किएका छन्।
जारी टी-२० विश्वकपमा भारत सुपर १२ बाट बाहिरिएको थियो। सुरुवाती दुई खेलमा पराजित भएपछि भारतका लागि अन्तिम चारको यात्रा सकिएको थियो।
न्युजिल्यान्डविरुद्धको टी-२० सिरिज नोभेम्बर १७ मा हुनेछ। पहिलो खेल १७ नोभेम्बरमा जयपुरमा हुनेछ भने दोस्रो खेल राँचीमा १९ नोभेम्बर र तेस्रो खेल कोलकतामा २१ नोभेम्बरमा हुनेछ।
भारतीय टिम : रोहित शर्मा (कप्तान), केएल राहुल (उपकप्तान), ऋतुराज गायकवाड, श्रेयस अय्यर, सूर्यकुमार यादव, रिशव पन्त, इशान किशन, वेंकटेश अय्यर, युगभेन्द्र चाहल, रविचन्द्रन आस्विन, अक्षर पटेल, आभेस खान, भुवनेश्वर कुमार, दीपक चाहार, हर्षल पटेल, मोहमद सिराज