न्युजिल्यान्ड आइसिसी टी-२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ। बुधबार राति अबुधावीमा भएको पहिलो सेमिफाइनलमा इंग्ल्यान्डलाई ५ विकेटले पराजित गर्दै न्युजिल्यान्ड उपाधि नजिक पुगेको हो।
अब उपाधिका लागि न्युजिल्यान्डले पाकिस्तान र अस्ट्रेलियाबीच भोलि हुने दोस्रो सेमिफाइनलको विजेतासँग आइतबार भिड्नेछ।
बुधबार इंग्ल्यान्डले दिएको १६७ रनको लक्ष्य न्युजिल्यान्डले १९ ओभरमा ५ विकेट गुमाएर पार गर्यो। न्युजिल्यान्डका लागि ड्यारेल मिचेलले नटआउट ७३ रनको योगदान गरे। उनले ४८ बलमा ४ चौका र ४ छक्का हिर्काए।
डेवन कनवेले ४६ रन र जेम्स नीशमले १० बलमा २६ रनको योगदान गरे।
बलिङमा इंग्ल्यान्डका क्रिस ओएक्स र लियाम लिभिङस्टोनले २-२ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले ४ विकेटको क्षतिमा १६६ रन जोड्यो।
उसका लागि मोइन अलीले नटआउट ५१ रन जोडे। उनले ३७ बलमा ३ चौका र २ छक्का हिर्काए।
जोस बटलरले २९ रन, जोनी वायस्टोले १३ रन, डेभिड मलानले ४१ रन र लिभिङस्टोनले १७ रनको योगदान गरे।
बलिङमा न्युजिल्यान्डका टिम साउथी, एडम मिल्ने, इश सोधी र नीशमले १-१ विकेट लिए।