ड्यारल मिचेल न्युजिल्यान्डको राष्ट्रिय रग्बी टिमका पूर्वखेलाडी तथा प्रशिक्षक जोन मिचेलका छोरा हुन्। ड्यारल रग्बी खेलको वरिपरि हुर्किए। स्कुल पढ्दा उनले रग्बी खेल्ने गर्थे। तर उनको सपना भने न्युजिल्यन्डको क्रिकेट टिमबाट खेल्ने थियो।
उनी पछिल्लो समय न्युजिल्यान्डको घरेलु टी-२० लिग सुपर स्मासमा उत्कृष्ट फिनिसर बनेका थिए। न्युजिल्यान्डको घरेलु क्रिकेटमा उनी पछिल्लो पाँच वर्षमा सर्वाधिक छक्का हिर्काउने खेलाडी बने।
कोलिन डे ग्रान्डहोम २०२०-२१ को सिजनमा घाइते भएपछि ड्यारलले मौका पाए। ग्रान्डहोमको स्थानमा ड्यारेलले आफूलाई स्थापति गरे।
जसका कारण उनले न्युजिल्यान्डको टी-२० विश्वकप टिममा स्थान बनाउन सफल भए। जिमी निशमसँगै ड्यारल फिनिसरको रुपमा न्युजिल्यान्डको टिममा अटाएका थिए।
टी-२० विश्वकप २०२१ को वार्मअप खेलमा उनले ओपनिङ गरेका थिए। विश्वकपको सुरूवाती खेलमा पनि उनी ओपनिङकै भूमिकामा देखिए।
सुपर १२ मा उनले पाकिस्तानविरूद्ध २७ रन, भारतविरूद्ध ४९ रन, स्कटल्यान्डविरुद्ध १३ रन, नामिबियाविरुद्ध १९ रन र अफगानिस्तानविरूद्ध १७ रन बनाए।
बुधबार भएको इंग्ल्यान्डविरूद्धको सेमिफाइनलमा पनि उनी मार्टिन गुपटिलसँग ओपनिङमा आएका थिए।
१६७ रन लक्ष्य पछ्याउँदै ब्याटिङ सुरू गुपटिल पहिलो ओभरको तेस्रो बलमै ४ रनमा आउट भए। तेस्रो ओभरमा कप्तान केन विलियमसन ५ रनमा आउट हुँदा न्युजिल्यान्ड दबाबमा परेको थियो।
सुरुवाती दुई विकेट गुमाएपछि न्युजिल्यान्डका ड्यारलसँगै डेवन कनवे ब्याटिङ गरिरहेका थिए। इंग्ल्यान्डले कनवेको विकेट लिने योजनाअनुरूप लेगस्पिनर लियाम लिभिङस्टोनलाई बलिङ गराइरहेको थियो। किनभने लेफ्ट ह्यान्ड ब्याट्सम्यानलाई स्पिनको भेराइटीमा ब्याटिङ गर्न अप्ठेरो हुन्छ। कनवेका लागि रणनीति बनाएको इंग्ल्यान्डले ड्यारलका लागि भने प्रभावकारी योजना बनाउन सकेन। पहिलो पटक टी-२० विश्वकपमा ओपनिङ गरिरहेका ड्यारल न्युजिल्यान्डका हतियार थिए।
१६६ रन डिफेन्ड गर्नका लागि इंग्ल्यान्डले बनाएको सुरुवाती योजना सफल भयो। पावरप्लेमा दुई विकेट लिएको इंग्ल्यान्डले न्युजिल्यान्डलाई ३६ रन मात्र जोड्न दिएको थियो। पावरप्लेमा इंग्ल्यान्डका क्रिस ओक्सले न्युजिल्यान्डका अनुभवी ब्याट्सम्यानद्वय गुपटिल र विलियमसनलाई सिकार बनाएका थिए। ओक्सले ड्यारेलविरुद्ध पनि उत्कृष्ट बलिङ गरेका थिए। जसका कारण उनले खुलेर ब्याटिङ गर्न सकिरहेका थिएनन्।
ड्यारल सहि समय कुरेर बसिरहेका थिए। अपेक्षा अनुसार ब्याटमा बल आइरहेको थिएन। अझ शित परेर ब्याटिङ गर्न सजिलो हुने अनुमान सहि हुन सकिरहेको थिएन।
यस्तोमा इंग्ल्यान्डका मार्क उडको पेस र बाउन्सले उनलाई हैरान पारिरहेको थियो। उनी अदिल रासिदको बलमा रिभर्स स्विप हान्न खोजिरहेका थिए। तर सकिरहेका थिएनन्।
ड्यारलसँगै ब्याटिङ गरिरहेका कनवेले विस्तारै न्युजिल्यान्डको इनिङ उकासिरहेका थिए। तर ४६ रन बनाएर खेलिरहँदा कनवेलाई लिभिङ्स्टोनले जोस बटलरबाट स्टम्प आउट गराए। त्यसपछि फेरि एकपटक न्युजिल्यान्ड संकटमा पर्यो। न्युजिल्यान्डका फ्यानको निशारा बढ्दै गयो।
कनवे आउट भएपछि ड्यारेल विस्तारै आक्रामक बने। उनले उडको बलमा छक्का हिर्काए। ड्यारेलसँगै मैदानमा रहेका जिमी निशमले पनि साथ दिए।
१७ ओभरको पहिलो बलमा क्रिस जोर्डनलाई छक्का हिर्काउँदै ड्यारेलले अर्धशतक पूरा गरे। सो ओभरमा निशमले एक चौका र एक छक्का हिर्काएका थिए।
१८ औं ओभरमा निशमले अदिल रसिदलाई २ छक्का हिर्काउँदा छैटौं बलमा भने आउट भएका थिए। जसका कारण खेल थप रोमाञ्चक बनेको थियो। न्युजिल्यान्डलाई अन्तिम २ ओभरमा २० रन चाहिएको थियो।
ड्यारल मिचेलले खेललाई लम्बाउन चाहेनन्। ओक्सले बलिङ गरेको १९ ओभरको पहिलो बलमा २ रन लिएका ड्यारलले त्यसपछि लगातार २ छक्का हिर्काए। त्यसपछि एक रन लिएका ड्यारेलले अन्तिम बलमा चौका हिर्काएपछि न्युजिल्यान्डले पहिलो पटक टी-२० विश्वकपको फाइनलमा स्थान पक्का गर्यो।
न्युजिल्यान्डले ऐतिहासिक जित हात पार्दा ड्यारल ७२ रनमा नटआउट रहे। उनले ४७ बलमा खेल्दा ४ चौका र ४ छक्का हिर्काए।