अष्ट्रेलिया आइसिसी टी-२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ।
पाकिस्तानलाई ५ विकेटले हराउँदै अस्ट्रेलिया दोस्रो पटक टी-२० विश्वकपको फाइनलम पुगेको हो।
पाकिस्तानले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले १९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो। अष्ट्रेलियाको जितमा विकेटकिपर म्याथ्यु वेडले उत्कृष्ट प्रदर्शन गरे।
अष्ट्रेलियालाई अन्तिम ३ ओभरमा ३७ रन आवश्यक हुँदा हसन अली अठारौं ओभरमा १५ रन खर्चिए। त्यसपछि अन्तिम १२ बलमा अष्ट्रेलियालाई जितका लागि २२ रन आवश्यक थियो। शाहिन अफ्रिदीले गरेको उन्नाईसौं ओभरको तेस्रो बलमा म्याथु वेडको क्याच हसन अलिले छुटाउन पुगे। त्यसपछि सो ओभरको अन्तिम तीन बलमा लगातार तीन छक्का प्रहार गर्दै अन्तिम ओभर बाँकी हुँदै खेल जिताए।
१७ बल खेलेका उनले २ चौका र ४ छक्का सहित ४१ रनमा अविजित रहे। यस्तै मार्कस स्टोइनिसले ३१ बलमा २ चौका र २ छक्का सहित ४० रनमा अविजित रहे।
वेड र स्टोइनिसबीच छैटौं विकेटका लागि ८१ रनको साझेदारी भएपछि अस्ट्रेलियाले जित हात पारेको हो। त्यसअघि अस्ट्रेलियाले १३ ओभरमा ५ विकेट गुमाउँदा ९६ रन जोडेको थियो।
ओपनर डेभिड वार्नर ४९ रन जोडेर आउट भएका थिए। कप्तान आरोन फिन्च शून्य, स्टिभ स्मिथ ५ रन र ग्लेन म्याक्सवेल ७ रनमा आउट भएका थिए। मिचेल मार्सले २२ बलमा २८ रनको योगदान दिएका थिए।
पाकिस्तानका लागि लेग स्पिनर शदाब खानले सर्वाधिक ४ विकेट लिए। शाहिन अफ्रिदीले १ विकेट हात पारे।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनाएको थियो।
पाकिस्तानका लागि मोहम्मद रिजवानले सर्वाधिक ६७ रन बनाए। ५२ खेल खेलेका उनले ३ चौका र ४ छक्का प्रहार गरे। यस्तै फखर जमानले ३२ बलमा ३ चौका र ४ छक्का मद्दतले अविजित ५५ रन बनाए। कप्तान बबर आजमले ३४ बलमा ५ चौका मद्दतले ३९ रनमा आउट भए।
रिजवानले बाबर आजमसँग पहिलो विकेटका लागि ७१ रनको ओपनिंग साझेदारी गरे। दोस्रो विकेटको लागि रिजवानले जमानसँग ७३ रनको साझेदारी गरे।
अस्ट्रेलियाका लागि मिचेल स्टार्कले सर्वाधिक २ विकेट लिए भने प्याट कमिन्स र एडम जाम्पाले समान एक-एक विकेट लिए।
अष्ट्रेलियाले यसअघि सन् २०१० मा पहिलो पटक फाइनल गरेको थियो। फाइनलमा इंग्ल्यान्डसँग ७ विकेटले पराजित भएको अष्ट्रेलियाले यो पटक उपाधिका लागि न्यूजिल्याण्डको सामना गर्नेछ।