पाकिस्तानी ब्याट्सम्यान मोहम्मद रिजवानले टी-२० अन्तर्राष्ट्रियमा नयाँ कीर्तिमान बनाएका छन्। उनले एकै क्यालेन्डर वर्षमा एक हजार रन बनाउने कीर्तिमान बनाएका हुन्।
युएईमा जारी टी-२० विश्वकपको सेमिफाइनलमा अस्ट्रेलियाविरूद्ध अर्धशतक बनाउँदै रिजवानले विश्वकीर्तिमान बनाएका हुन्। उनले यो वर्ष २३ औं खेल खेल्ने क्रममा २० इनिंङ्समा ब्याटिङ गर्दै यो कीर्तिमान बनाएका हुन्।
अष्ट्रेलियाविरूद्ध ६७ रन बनाएका रिजवानले २३ खेलमा एक शतक र १० अर्धशतकसहित ८६.०८ को औशत र १३६.४५ को स्ट्राइक रेटमा १ हजार ३३ रन बनाएका हुन्। यस क्रममा उनले ३७ छक्का र ८८ चौका प्रहार गरे। २ पटक शून्यमा आउट भए। जारि विश्वकपमा मात्रै उनले ६ खेलबाट ३ अर्धशतकसहित २८१ रन बनाए।
रिजवान पछि पाकिस्तानकै कप्तान बाबर आजम एकै क्यालेन्डर वर्षमा (टि-२० अन्तर्राष्ट्रिय) दोस्रो सर्वाधिक रनकर्ता हुन्। आजमले २३ खेलबाट १ शतक र ८ अर्धशतक प्रहार गर्दै यो वर्ष कुल ८२६ रन बनाए।
यस्तै तेस्रो सर्वाधिक रन आयरल्याण्डका पल स्टरलिंगले सन् २०१९ मा ७४८ रन बनाएका थिए।