नेपाली महिला क्रिकेट टोलीले आफ्नो पहिलो टी २० अन्तर्राष्ट्रिय सिरिजमा सानदार जित निकालेको छ।
नेपालले कतारमाथि १ सय १९ रनको कीर्तिमानी जित निकाल्दै तीन खेलको सिरिजमा १-० को अग्रता लिएको छ।
महिला टी २० अन्तर्राष्ट्रियमा नेपालको यो हालसम्मकै ठूलो रन अन्तरको जित हो।
पहिले ब्याटिङ गर्दै नेपालले दिएको १ सय ४७ रनको लक्ष्य पछ्याएको घरेलु टोली कतार ११.५ ओभर अलआउट हुँदै २७ रनमा समेटियो। नेपालको घातक बलिङ सामु कतारका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
कतारकी खादिजा इम्तियाज र एन्जेलिन मारेले सर्वाधिक ८-८ रन बनाए। यस्तै केरी पाउनसेटले ७ रन बनाउँदा रिज्फा बानो इमानुएलले ३ रन जोडिन्। नेपालको उत्कृष्ट बलिङसामू कतारका ६ खेलाडीले खाता नखोली आउट भएका थिए।
नेपालकी कप्तान रूविना क्षेत्री बेलबासेले १.५ ओभरमा १ रन खर्चेर ३ विकेट लिइन्। सीता रानामगरले २ ओभरमा १ मेडन सहित ३ रन खर्चेर २ विकेट लिइन्। कविता कुँवरले २ ओभरमा ६ रन खर्चेर २ विकेट लिइन् । करुणा भण्डारीको नाममा १ विकेट रह्यो ।
त्यसअघि कतारको दोहारस्थितवेस्ट इन्ड इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ४६ रन बनायो ।
नेपाली महिला टोलीले अन्तर्राष्ट्रिय टी-२० मा यो नै हालसम्मकै सर्वाधिक योगफल हो। यसअघि सन् २०१९ मा मलेसियाविरुद्ध १ सय २६ रन बनाएको थियो।
नेपालका लागि इन्दु बर्माले अर्धसतकीय पारी खेलिन्। ४७ बलमा ५ चौकासहित सर्वाधिक ५५ रन बनाएकी इन्दु रिटायर्ट हर्ट हुँदै अर्को खेलाडीलाई मौका दिएकी थिइन्।
इन्दु नेपालका लागि टी २० अन्तर्राष्ट्रियमा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बनेकी छिन्। उनले ४५ बलमा अर्धशतक पूरा गरेकी थिइन्। यसअघि टी २० अन्तर्राष्ट्रिय नेपालको महिला टोलीका कुनै पनि सदस्यले अर्धशतक प्रहार गरेका थिएनन्। यसअघि सीता राना मगरले सन् २०१९ मा इन्डोनेसियाविरुद्ध ४८ रन बनाएकी थिइन्।
यस्तै सीताले आज ३३ बलमा ५ चौका सहित ३९ रन बनाएर आउट भइन् । सरिता मगर २१ बलमा २ चौका सहित २१ रनमा रन आउट हुँदा कविता कुँवर ८ रनमा अविजित रहिन्।
कप्तान रुविना क्षेत्री बेलबास शून्यमा रन आउट हुँदा ओपनर काजल श्रेष्ठ ३ रन बनाएर आउट भइन्।
नेपालले कतारसँग बुधबार दोस्रो र बिहिबार तेस्रो खेल खेल्नेछ।
आइसिसी वुमन्स टी २० एसिया छनोटअघि तयारीको लागि नेपालले कतारसँग तीन टि २० अन्तर्राष्ट्रिय सिरिज खेलेको हो।