नेपाली महिला टिमले कतारविरूद्धको तीन खेलको टी-२० सिरिज एक खेल अगावै जितेको छ।
बुधबार भएको दोस्रो खेलमा कतारलाई ६१ रनले पराजित गर्दै नेपालले सिरिज जितेको हो। यसअघि पहिलो खेलमा नेपालले कतारलाई ११९ रनले पराजित गरेको थियो।
नेपाली महिला टिमले पहिलो पटक टी-२० अन्तर्राष्ट्रिय सिरिज जितेको हो।
बुधबार नेपालले दिएको १३० रनको लक्ष्य पछ्याएको कतार ३ बल खेल्न बाँकी छदा ६८ रनमा अलआउट भयो।
कतारका लागि आयशाले २४ रन र केरी पनसेटले १५ रनको योगदान गरे।
बलिङमा नेपालकी सरस्वती चौधरीले ४ विकेट लिइन्। उनले ४ ओभरमा १ मेडन राख्दा ८ रन दिइन्। यस्तै कप्तान रुबिना क्षेत्रीले २ विकेट लिइन्।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १२९ रन जोड्यो।
नेपालका लागि रुबिना क्षेत्रीले अर्धशतक प्रहार गरिन्। उनले ४८ बलमा ४ चौका र १ छक्काको मद्दतमा ५० रन जोडिन्।
अप्सरी बेगमले नटआउट २३ रन जोडिन् भने कविता कुवँरले ३१ रनको योगदान दिइन्।
नेपालले टी-२० महिला विश्वकप एसिया छनोटअघि कतारसँग तीन खेलको सिरिज खेलेको हो।
विश्वकप छनोट आगामी सोमबारदेखि यूएईमा सुरु हुँदैछ। छनोटमा नेपालले घरेलु टोली युएई, भुटान, कुवेत, हङकङ र मलेसियासँग प्रतिस्पर्धा गर्नेछ। छनोटबाट एक टिम विश्व छनोटमा पुग्नेछ।