भारतले न्यूजिल्याण्डविरूद्धको टी-२० सिरिजमा विजयी सुरूआत गरेको छ।
टी-२० सिरिजको पहिलो खेलमा पाहुना टोली न्यूजिल्याण्डलाई ५ विकेटले हराउँदै भारतले ३ खेलको सिरिजमा १-० को अग्रता लिएको हो।
न्यूजिल्याण्डले दिएको १६५ रनको लक्ष्य भारतले ५ विकेट गुमाएर १९.४ ओभरमा पुरा गर्यो। भारतको जितमा सूर्यकुमार यादवले सर्वाधिक ६२ रन बनाए। उनले ४० बलमा ३ छक्का र ६ चौका प्रहार गरे। यस्तै कप्तान रोहित शर्माले ४८ रन बनाउँदा ओपनर केएल राहुलले १५ रन जोडेका थिए। ऋषव पन्तले १७ रन बनाउँदा श्रेयर ऐयरले ५ रन जोडे।
न्यूजिल्याण्डका लागि ट्रेन्ट बोल्टले २ तथा टिम साउथी, डारियल मिचेल र मिचेल सेन्टनरले १- १ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङको मौका पाएको न्यूजिल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६४ रन बनाएको थियो।
उसका लागि मार्टिन गुप्टिलले सर्वाधिक ७० रन बनाए । ४२ बल खेलेका उनले चार छक्का र तीन चौका प्रहार गरे। त्यस्तै, मार्क च्यापम्यानले पनि अर्धशतकीय पारी खेले। उनले ५० बलमा ६ चौका र दुई छक्काको सहयोगमा ६३ रन बनाए ।
टिम साइफर्टले १२ रन बनाउँदा बाँकी ब्याट्समेनले दोहोरो अंकमा रन जोड्न सकेनन्।
भारतका लागि रविचन्द्रन आश्विन र भुवनेश्वर कुमारले समान दुई/दुई तथा मोहम्मद सिराज र दीपक चाहरले समान एक/एक विकेट लिए।
भारत र न्यूजिल्याण्ड टी-२० विश्वकप लगत्तै सोही प्रारूपको सिरिज खेलिरहेका हुन्। हालै सम्पन्न विश्वकप म्याचमा न्यूजिल्याण्डले भारतलाई ८ विकेटले हराएको थियो।
रोहित शर्माको कप्तानीमा रहेको भारतको टिममा विराट कोहली, जसप्रीत बुमराह, मोहम्मद शामी, हार्दिक पाण्ड्या, रवीन्द्र जडेजा छैनन्।
यता न्यूजिल्याण्ड टिमका कप्तान केन विलियम्सनले पनि विश्राम लिएका छन्।