दक्षिण अफ्रिकाका विस्फोटक ब्याट्समेन एबी डी विलियर्सले सबैखाले क्रिकेटबाट सन्यास लिएका छन्।
सन् २०१८ सालमै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्सासको घोषणा गरेका उनले फ्रेन्चाइज क्रिकेट खेल्दै आएका थिए।
‘यो एउटा अविश्वसनीय यात्रा थियो, तर मैले सबैखाले क्रिकेटबाट सन्यास लिने निर्णय गरेको छु,’ डिभिलियर्सले शुक्रबार सामाजिक सञ्जालमा भनेका छन्, ‘मैले शुद्ध आनन्द र बेलगाम उत्साहका साथ खेल खेलेको छु। अब, ३७ वर्षको उमेरमा पनि त्यो उत्साह रहनेछैन।’
रोयल च्यालेन्जर्स बैंलोरका नियमित खेलाडी डिभिलियर्सले पछिल्लो पटक आइपिएल २०२१ खेलेका थिए। उनले १५ खेलबाट ३१३ रन बनाएका थिए। उनी सन् २०११ देखि रोयल च्यालेन्जर्स बैंग्लोसबाट आइपिएल खेल्दै आएका थिए।
भिलियर्सले दक्षिण अफ्रिकाका लागि १ सय १४ टेस्ट, २ सय २८ एकदिवसिय र ७८ टी–ट्वान्टी खेलेका छन् ।
उनले टेस्टमा ८ हजार ७ सय ६५, एकदिवसियमा ९ हजार ५ सय ७७ र टी–ट्वान्टीमा १ हजार ६ सय ७२ रन जोडेका छन् ।
भिलियर्सले टेस्टमा २२ शतक र ४६ अर्धशतक तथा एकदिवसियमा २५ शतक तथा ५३ अर्धशतक प्रहार गरेका छन्।