रोहित शर्माको कप्तानीमा रहेको भारतले न्यूजिल्याण्डविरूद्धको टी-२० सिरिज क्लिनस्वीप गरेको छ।
तेस्रो खेलमा भ्रमण टोली न्युजिल्यान्डलाई ७३ रनले हराउँदै भारतले तीन खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज क्लिनस्वीप गरेको हो।
७३ रनको जित न्युजिल्यान्डविरूद्ध भारतको इतिहासकै सबैभन्दा ठूलो रन अन्तरको जित हो। यसअघि न्यूजिल्याण्डविरूद्ध भारतको विशाल जित ५३ रनको थियो।
भारतले दिएको १८५ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड १७.२ ओभरमाअलआउट हुँदै १११ रनमा समेटियो।
न्युजिल्यान्डको लागि ओपनर मार्टिन गुप्टिलले सर्वाधिक ५१ रन बनाए। टिम सेफर्टले १७ तथा लकी फर्गुसनले १४ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। गुप्टिल र सेफर्टले चौंथो विकेटको लागि ३९ रनको साझेदारी गरेका थिए।
पाहुना टोलीलाई सस्तैमा समेट्न भारतका लागि अक्षर पटेलले ९ रन खर्चेर सर्वाधिक ३ विकेट लिए। हर्षल पटेलले २ विकेट लिँदा दिपक चाहर, युजभेन्द्र चहल र भेंकटेस ऐयरले समान एक-एक विकेट लिए।
यसअघि कोलकातास्थित इडन गार्डेन्स स्टेडियममा टस जितेर पहिले ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन बनाएको थियो।
भारतको लागि कप्तान रोहित शर्माले सर्वाधिक ५६ रन बनाए। ३१ बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहार गरेका थिए।
यस्तै इशान किशनले २९, श्रेयस ऐयरले २५, दिपक चाहरले अविजित २१, भेंकटेस ऐयरले २०, हर्षल पटेलले १८ रन जोडे।
न्युजिल्यान्डका लागि मिचेल स्यान्टनरले सर्वाधिक ३ विकेट लिए। यस्तै एडम मिल्ने, लकी फर्गुसन, ट्रेन्ट बोल्ट, इश सोढीले समान एक-एक विकेट लिए।
सिरिज अन्तर्गत पहिलो खेलमा भारतले ५ विकेटले जितेको थियो भने दोस्रो खेलमा पाहुना टोलीलाई ७ विकेटले हराएको थियो।
दुई देशबीच बिहीबारदेखि दुई वटा टेस्ट सिरिज हुनेछ।