आइसिसी टी-२० महिला विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले खराब सुरुवात गरेको छ। सोमबार दुबईमा भएको खेलमा नेपाललाई हङकङले ६ विकेटले पराजित गर्यो।
नेपालले दिएको १०५ रनको लक्ष्य हङकङले १८ ओभरमा ४ विकेट गुमाएर पार गर्यो।
हङकङको जितमा ओपनर मारिको हिलले नटआउट ४४ रन जोडिन्। उनले ४२ बलमा ४ चौका प्रहार गरिन्। नतासा माइल्सले १६ रन, केरी चानले १७ रन र इमा लाइले नटआउट १३ रनको योगदान दिए।
बलिङमा नेपालकी कविता कुँवर, सीता रानामगर र सबनम राईले १-१ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३ विकेटको क्षतिमा १०४ रन जोड्यो।
नेपालका लागि सीता रानामगरले ४० रनको योगदान गरिन्। उनले ५८ बलमा ४ चौका प्रहार गरिन्।
इन्दू बर्माले नटआउट ३१ रन जोडिन्। उनले ३६ बलमा ३ चौका हिर्काइन्।
त्यसअघि ओपन कविता कुँवर शून्यमा आउट हुँदा काजल श्रेष्ठले ४ रन भन्दा जोड्न सकिनन्। कप्तान रुबिना क्षेत्रीले नटआउट २ रन बटुलिन्।
बलिङमा हङकङकी बेटी चान र केरी चानले १-१ विकेट लिए।
छनोटमा नेपालले घरेलु टोली युएई, भुटान, कुवेत, हङकङ र मलेसियासँग प्रतिस्पर्धा गर्नेछ। छनोटबाट एक टिम विश्व छनोटमा पुग्नेछ।
छनोटअघि नेपालले कतारसँग ३ खेलको टी-२० सिरिज खेलेको थियो। सिरिज नेपालले क्लिनस्विप गरेको थियो।