बंगलादेशविरूद्धको टी-२० सिरिजमा पाकिस्तानले क्लिनस्वीप गरेको छ।
सोमबार भएको अन्तिम तथा तेस्रो खेलमा घरेलु टोली बंगलादेशलाई ५ विकेटले हराउँदै पाकिस्तानले सिरिज ३-० ले आफ्नो पक्षमा पारेको हो।
शेरे बांग्ला नेसनल स्टेडियम, ढाकामा सम्पन्न खेलमा बंगलादेशले दिएको १२५ रनको लक्ष्य पाकिस्तानले अन्तिम बलमा ५ विकेट गुमाएर पुरा गर्यो।
जितको लागि पाकिस्तानलाई अन्तिम ओभरमा ८ रन आवस्यक रहँदा बंगलादेशका महमुदुल्लाहले पहिलो बलमा रन दिएनन्। दोस्रो बलमा सरफराज एहमद र तेस्रो बलमा क्रिजमा जमिसकेका हैदर अलिको विकेट लिए। चौंथो बलमा इफ्तिखार अहमदले छक्का प्रहार गरे। त्यसपछि जित्न २ बलमा २ रन चाहियो। पाँचौ बलमा इफ्तिखारलाई महमुदुल्लाहले क्याच आउट बनाए। अब अन्तिम बलमा २ रन आवश्यक हुँदा मोहम्मद नवाजले चौका प्रहार गर्दै पाकिस्तानलाई सनसनीपूर्ण जित दिलाए।
पाकिस्तानको जितमा हैदर अलीले ४५, मोहम्मद रिजवानले ४० र बाबर आजमले १९ रनको योगदान दिए। बलिङमा बंगलादेशी कप्तान मोहमुदुल्लाहले सर्वाधिक तीन, अमिनुल इश्लाम र शोहिदुल इस्लामले एक/एक विकेट लिए।
त्यसअघि, टस जितेर पहिला ब्याटिङ गरेको घरेलु टोली बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२४ रन बनायो। उसका लागि मोहम्मद नइमले ४७, शमीम हुसेनले २२, अफिफ हुसेनले २० र कप्तान महमुदुल्लाहले १३ रन जोडे।
बाँकी ब्याटरले दोहोरो अंकमासमेत रन जोड्न सकेनन्। पाकिस्ताननको बलिङमा मोहम्मद वसीम, इमिद कादिरले दुई/दुई, शाननवाज धानी र हरिस रौफले एकएक विकेट लिए।
सिरिजको पहिलो खेलमा ४ विकेटले हराएको पाकिस्तानले दोश्रो खेलमा घरेलु टोलीलाई ८ विकेटले हराउँदै सिरिज जितेको थियो। खेलको प्लेयर अफ द म्याच हैदर अलि चुनिए भने मोहम्मद रिजवान प्रतियोगिताकै उत्कृष्ट खेलाडी चुनिए।
दुई देशबीच शुक्रबारदेखि दुई वटा टेस्टको सिरिज खेलिनेछ।