युएईमा जारी टी १० लिगमा टिम अबुधाबीले लगातार पाँचौ जित निकालेको छ।
बुधबार प्रतियोगिता अन्तर्गत समूह चरणको आफ्नो पाँचौ खेलमा अबुधाबीले दिल्ली बुल्सलाई ६ विकेटले हराउँदै शतप्रतिशत जितसहित शीर्ष स्थानमा कायमै रहेको हो।
पहिले ब्याटिङ गर्दै दिल्लीले दिएको १२२ रनको लक्ष्य अबुधाबीले अन्तिम बलमा ४ विकेट गुमाएर पुरा गर्यो।
अबुधाबीको जितमा इङ्ल्याण्डका फिल साल्टले सर्वाधिक ५६ रन बनाए। मात्र २३ बल खेलेका उनले ५ छक्का र ३ चौका प्रहार गरेका थिए।
यस्तै कप्तान लिम लिभिङस्टोनले २५ रन बनाउँदा जामी ओभर्टनले बिस्फोटक ब्याटिङ गर्दै ५ बलमा २० रन जोडे। त्यसअघि क्रिश गेलले ९ बलमा १५ रन जोडेका थिए।
दिल्लीका लागि डोमिनिक ड्राकेसले २ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित १० ओभरमा ४ विकेट गुमाउँदै १२१ रन बनाएको थियो।
दिल्लीका लागि रोमारियो सेफर्डले सर्वाधिक ३९ रन बनाए। उनले ११ बलमा ४ छक्का र ३ चौकासहित नटआउट रहे।
लुक राइटले २५ रन बनाउँदा रहमुल्लाह गुर्वाजले २२ तथा रिली रोश्वोले २० रन जोडे।
अबुधाबीका लागि डानी ब्रिग्सले २ विकेट लिए।
यो जितसँगै अबुधाबीले लिगमा शतप्रतिशत जित निकाल्दै १० अंक जोडेर शीर्ष स्थानमा कायमै छ।
पराजित दिल्ली ५ खेलमा ६ अंक जोडेर तेस्रो स्थानमा छ। एक खेल कम खेलेको डेकन ग्लाडिएटर्स समान ६ अंकसहित रन रेटमा अगाडि रहँदै दोस्रो स्थानमा छ।