बिग ब्यास लिग खेल्न नेपाली लेग स्पिनर सन्दिप लामिछाने बुधबार अस्ट्रेलिया प्रस्थान गरेका छन्। लगातार चौंथो सिजन लिग खेल्न लागेका सन्दीप अस्ट्रेलिया पुगेर १ दिन क्वारेन्टाइन बसेपछि टिमसँग अभ्यासमा जोडिनेछन्।
बिग ब्यास लिगको एघारौं सिजन आगामी डिसेम्बर ५ तारिखदेखि सुरू हुँदैछ। यसपटक सन्दिपले होबार्ट हरिकेन्सको प्रतिनिधित्व गर्दैछन्। सन्दिपले गत सिजन पनि होबार्टको प्रतिनिधित्व गरेका थिए। त्यसअघि उनले २०१८/१९ र २०१९/२० सिजन मेलबर्न स्टार्सबाट खेलेका थिए।
गत वर्ष बिग ब्यास लिग खेलेपछि सन्दिपले कुनै पनि विदेशी लिग खेलेका छैनन्। भिसा समस्याका कारण इंग्ल्यान्डको दुई वटा टि-ट्वान्टी लिग ‘द हन्ड्रेड’ र ‘टि-ट्वान्टी ब्लास्ट’ गुमाएका उनले त्यसपछि नेपालको विश्वकप लिग-२ अन्तर्गत ओमान भ्रमणका कारण क्यारेबियन प्रिमियर लिग पनि गुमाएका थिए।
यस बीचमा उनले नेपाली राष्ट्रिय क्रिकेट टिमको खेलबाहेक घरेलु क्रिकेटमा एभरेष्ट प्रिमीयर लिग टि-२० तथा काठमाडौं मेयर्स कपमा भने सहभागिता जनाए।
सन्दिपको टिम होबार्ट हरिकेन्सले लिगको पहिलो खेल डिसेम्बर ८ तारिखमा सिड्नी सिक्सर्ससँग खेल्दैछ। हरिकेन्समा सन्दिपसहित विदेशी खेलाडीको रूपमा सिंगापुर ब्याट्सम्यान टिम डेभिड र इंग्ल्यान्डका ह्यारी ब्रुक्स छन्।
टिममा नाथन इलिस, पिटर ह्यान्ड्सकम्ब, बेन म्याकडरमोट, राईली मेरेडीथ, म्याथु वेड, ड्यार्सी सर्ट जस्ता खेलाडीहरु रहेका छन्।
गत सिजन बिग ब्यास लिगमा सन्दिपले ८ खेल खेल्दा ८ विकेटनै लिएका थिए ।