युएईमा जारी आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेलमा कुवेतविरुद्ध प्रतिस्पर्धा गर्दैछ।
पहिलो खेलमा हार र दोस्रो खेलमा जित निकालेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा कुवेतविरूद्ध खेल्न लागेको हो।
खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरू हुनेछ। प्रतियोगितामा कुवेतविरुद्ध खेल्दै गर्दा नेपाल दोस्रो जितको खोजीमा हुनेछ। नेपाल कुवेतलाई सहज रूपमा हराउँदै नेट रनरेट बढाएर शीर्षस्थानमा पुग्ने दाउँमा हुनेछ।
सोमबार भएको पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित हुँदा मंगलबारको दोस्रो खेलमा भुटानलाई आठ विकेटले हराउँदै छनोटको सम्भावना कायमै राखेको छ।
यता, कुवेत भने प्रतियोगितामा पहिलो जितको खोजीमा छ। कुवेत यसअघि दुवै खेलमा पराजित भएको छ।
पहिलो खेलमा भुटानसँग ४० रनले पराजित भएको कुवेत दोस्रो खेलमा मलेसियासँग ८१ रनले पराजित भयो।
नेपालले विश्वकपको ग्लोबल छनोटको सम्भावना कायमै राख्न आज कुवेतसहित बाँकी खेलमा सबै टिमलाई हराउनुपर्ने हुन्छ।
यसअघि नेपालले अन्तिम पटक सन् २०१९ मा भएको खेलमा कुवतेलाई ३० रनले पराजित गरेको थियो।
प्रतियोगिताको चौथो खेलमा नेपालले शुक्रबार मलेसियाविरुद्ध र पाँचौँ खेलमा आइतबार घरेलु टोली संयुक्त अरब ईमिरेट्स (यूएई)विरुद्ध खेल्नेछ ।
जारी प्रतियोगितामा दुई खेलमा दुई नै जित निकालेको यूएई चार अंकसहित शीर्षस्थानमा छ। नेपाल, मलेसिया, हङकङ र भुटानको समान २ अंक रहँदा नेट रनरेटका आधारमा क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौँ स्थानमा छन्। अंक जोड्न नसकेको कुवेत पुछारमा छ ।
एसिया छनोटका ६ टोलीमध्ये प्रतियोगिताको शीर्ष टोली ग्लोबल छनोटमा स्थान बनाउनेछ ।
नेपालको सम्भावित-११ : सीता राना मगर, इन्दु शर्मा, रुविना क्षेत्री (कप्तान), कविता जोशी, करुणा भण्डारी, ज्योति पाण्डे, सरस्वतीकुमारी चौधरी, सबनम राई, कविता कुँवर, अप्सरी बेगम र सरिता मगर।