यूएईमा जारी पाँचौं संस्करणको टी-१० लिगअन्तर्गत बिहिबारको खेलमा दिल्ली बुल्स र बंगला टाइगर्स विजयी भएका छन्।
अबुधाबीमा भएको पहिलो खेलमा बंगला टाइगरले डेक्कन ग्लाडियटर्सलाई ९ विकेटले हरायो। ग्लाडियटर्सले दिएको ११७ रनको लक्ष्य बंगलाले ८.१ ओभरमा मात्र एक विकेट गुमाएर पूरा गर्यो ।
उसका लागि हजरतुल्लाह जजाईंले उत्कृष्ट पारी खेले । उनले २६ बलमा पाँच छक्का र तीन चौकासहित अविजित ४९ रन बनाए। त्यस्तै, विल ज्याक्सले नटआउट २८ र जोनसन चार्ल्सले २२ रनको योगदान दिए। बलिङमा ओडेन स्थिमले १ विकेट लिए।
त्यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको ग्लाडियटर्सले निर्धारित १० ओभरमा ५ विकेट गुमाएर ११६ रन बनाएको थियो। उसका लागि टम ब्यान्टनले ३०, ओडेन स्मिथले २६, डेविड भिसेले अविजित २५, टम मोरिसले १३ र टमकोहलर क्याडमोरले ११ रन बनाए । आन्द्रे रसेलले ३ रन जोडेर आउट भए।
बलिङमा बेनी हाउवेलले दुई, करिम जन्नत, जेम्स फल्कनर र मोहम्मद आमिरले एक/एक विकेट लिएका थिए।
यस्तै हिजै भएको दोस्रो खेलमा दिल्ली बुल्सले नर्दन वारियर्सलाई ८ विकेट हराउँदै दोस्रो स्थानमा उक्लिएको छ।
वारियर्सले दिएको १२९ रनको लक्ष्य दिल्लीले अन्तिम बल अगाडि पुरा गर्यो। दिल्लीको जितमा रहमानउल्लाह गुरबाजले सर्वाधिक ७० रन बनाए। मात्र ३२ बल खेलेका उनले ५ छक्का र ६ चौका प्रहार गरेका थिए। यस्तै ल्यूक राइटले १८ बलमा ४० रन बनाए। वारियर्सका लागि उमिर अली र रायद इम्रितले १-१ विकेट लिए।
यसअघि पहिले ब्याटिङ गरेको वारियर्सले निर्धारित १० ओभरमा ६ विकेट गुमाउँदै १२८ रन बनाएको थियो। उसका लागि रोबभ्यान पावेलले सर्वाधिक ५६ रन बनाए।
दिल्लीका लागि सिराज अहमदले २ विकेट लिए।
यो जितसँगै दिल्ली ६ खेलबाट ८ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ। ६ अंक जोडेको बंगला टाइगर्स अंक तालिकाको चौथो स्थानमा छ।
बंग्लाविरूद्ध हारेको ग्लाडियटर्स समान अंक भए पनि रनरेटका आधारमा तालिकाको तेस्रो स्थानमा झरेको छ।