भारतीय टिमका युवा खेलाडी श्रेयस अय्यरले डेश्यु खेलमै शतक बनाएका छन्। न्यूजिल्याण्डविरूद्धको टेष्ट सिरिजको पहिलो खेलमा उनले १७१ बलमा १३ चौका र दुई छक्कासहित १०५ रन बनाए।
अय्यरले डेब्यू टेष्ट म्याचमै शतक पूरा गरेका हुन्। योसँगै टेष्ट डेब्यूमा न्यूजिल्याण्डविरुद्ध शतक बनाउने उनी तेस्रो भारतीय खेलाडी बने।
यसअघि, न्यूजिल्याण्डविरूद्ध टेष्ट डेब्यूमा सुरेन्दर अमरनाथ (१२४), कृपाल सिंह (अविजित १००) ले शतक बनाइसकेका छन्।
टस जितेर पहिले व्याटिङ गर्दै भारतले ३४५ रन बनायो। पहिलो दिनको खेल सकिँदा भारतले ४ विकेट गुमाएर २५८ रन बनाएको थियो। दोस्रो दिन थप ८७ रन जोड्दा भारतले सबै विकेट गुमायो।
उसका लागि मयंक अग्रवालले १३, शुभमन गिलले ५२, चेतेश्वर पुजाराले २६ र कप्तान अजिंक्य रहाणेले ३५ रन बनाएर आउट भए।
१४५ रनमै ४ विकेट गुमाएको भारतका लागि डेब्यू खेलाडी श्रेयस अय्यर र रवीन्द्र जडेजाले उत्कृष्ट प्रदर्शन गरे।
जडेजाले टेष्ट क्रिकेटमा १७ औं अर्धशतक पुरा गरे। यस क्रममा उनले १ सय १२ बल खेल्दै ६ चौकासहित ५० रन जोडे। अय्यर र जडेजाबीच पाँचौ विकेटका लागि १२१ रनको साझेदारी गरे।
रविचन्द्र आश्विनले ३८ रन बनाउँदा उमेश यादवले १० रन जोडे।
बलिङतर्फ टिम साउथीले ५ विकेट लिए।
कायल जेमिसनले १५.२ ओभरमा ६ मेडनसहित महत्वपूर्ण ३ विकेट लिए।आजिज पटेलले २ विकेट हात पारे।