वाई-वाई यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा शनिबार भएका खेलमा गण्डकी र लुम्बिनी प्रदेश विजयी भएका छन्।
कीर्तिपुर मैदानमा भएको खेलमा गण्डकीले कर्णाली प्रदेशलाई ३ विकेटले हरायो।
पहिले ब्याटिङ गरेको कर्णाली २८ ओभरमा ११३ रनमा अलआउट भयो। लुम्बिनीले २६.५ ओभरमा ७ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो। गण्डकीले जारी प्रतियोगितामा पहिलो जित हात पारेको हो।
यता लुम्बिनीले बागमति प्रदेशलाई ३ विकेटले नै हरायो। पहिले ब्याटिङ गरेको बागमति ४७.१ ओभरमा १९३ रन जोड्यो।
उसका लागि विवेक मगरले ४० रन जोडे। बलिङमा लुम्बिनीका विशालविक्रम केसीले ४ विकेट लिए।
१९४ रनको लक्ष्य लुम्बिनीले ४६.५ ओभरमा ७ विकेटको क्षतिमा पूरा गर्यो। उसका लागि देव खनालले ६७ रन जोडे।
बलिङमा बागमतिका गौतम केसीले ३ विकेट लिए। जारी प्रतियोगितामा लुम्बिनीले तेस्रो जित हात पारेको हो। बागमति भने एक खेलमा मात्र विजयी भएको छ।