वाई-वाई यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले चौथो जित हात पारेको छ।
जारी प्रतियोगितामा पाँच खेलबाट ८ अंक जोड्दै शीर्ष स्थानमा पुग्ने क्रममा लुम्बिनीले सोमबार प्रदेश १ लाई ६ विकेटले पराजित गर्यो।
प्रदेश १ ले दिएको १०७ रनको लक्ष्य लुम्बिनीले २३.३ ओभरमा ४ विकेट गुमाएर पार गर्यो। उसका लागि विशालविक्रम केसीले २६ रन, कप्तान देव खनालले २५ रन र वासिर अहमेदले नटआउट २४ रन जोडे।
बलिङमा प्रदेश १ का दिपेश कँडेलले २ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले अलआउट हुने क्रममा ३७.२ ओभरमा १०६ रन जोड्यो।
प्रदेश १ का लागि गौरभ कटुवालले सर्वाधिक १९ रन जोडे। बलिङमा लुम्बिनीका मोमहद हुसेनले ५ विकेट लिए। वासिर अहमेदले ३ विकेट हात पार्दा दुर्गेश गुप्ताले २ विकेट लिए।
प्रदेश १ ले पहिलो हार बेहोरेको छ। यसअघि प्रदेश १ ले लगातार तीन खेलमा जित निकालेको थियो।
यता गण्डकीले प्रदेश २ लाई ५५ रनले हरायो। गण्डकीले दिएको १५७ रनको लक्ष्य पछ्याएको प्रदेश २ खराब ब्याटिङ गर्ने क्रममा २२.५ ओभरमा १०१ रनमै अलआउट भयो।
प्रदेश २ का लागि त्रितराज दासले ३१ रन र रोहन विकले २३ रन जोडे।
बलिङमा गण्डकीका कमल परियारले ५ विकेट लिए।सन्तोष भण्डारीले ३ विकेट हात पार्द किरण पौडेलको नाममा २ विकेट रह्यो।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गण्डकी ४३.४ ओभरमा १५६ रनमा अलआउट भयो।
गण्डकीका अर्जुन कुमालले सर्वाधिक ४७ रन जोडे।
बलिङमा प्रदेश २ का विवेक यादवले ५ विकेट लिए। गुल्शन झाको नाममा ३ विकेट रह्यो।
गण्डकीले चार खेलमा दोस्रो जित हात पारेको हो। प्रदेश २ ले चार खेलमा दुई खेलमा हार बेहोरेको छ।