भारत र न्यूजिल्याण्डबीचको पहिलो टेस्ट बराबरीमा सकिएको छ।
कानपुरमा भएको खेलको अन्तिम दिन घरेलु टोली भारतले अन्तिम विकेट लिन नसक्दा खेल बराबरीमा टुंगिएको हो ।
न्यूजिल्यान्डले जितका लागि पाएको २ सय ८४ रनको लक्ष्य पछ्याउने क्रममा दोस्रो पारीमा न्यूजिल्याण्डले ९ विकेट गुमाएर १६५ रन बनायो। म्याच ड्र गर्न रचिन रवीन्द्र र एजाज पटेलको भूमिका महत्वपूर्ण रह्यो।
रचिनले यही म्याचमा टेष्टमा डेब्यू गरेका हुन् । उनले हारिसकेको म्याच ड्र गर्न उत्कृष्ट भूमिका निर्वाह गरे। रचिनले ९१ बलको सामना गर्दै २ चौकाको मद्दतमा अविजित १८ रन बनाए । त्यस्तै, एजाज पटेलले २३ बलमा नटआउट २ रनको योगदान दिए।
त्यस्तै, दोस्रो पारीमा टम लाथमले ५२, विलियम सोमरभिलले ३६ र कप्तान केन विलियम्सनले २४ रनको योगदान दिए। बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन्।
बलिङमा रवीन्द्र जडेजाले चार, रवीचन्द्रन आश्विनले तीन, उमेश यादव र अक्षर पटेलले एक-एक विकेट लिए। पहिलो पारीमा न्यूजिल्याण्ड २९६ रनमा अलआउट भएको थियो।
सो खेलमा टम लाथमले ९२, विल योङले ८९, कायल जेमिसनले २३, केन विलियम्सनले १८, टम ब्लन्डेल, रचिन रवीन्द्रले १३-१३ र रस टेलरले ११ रन बनाए।
बलिङमा अक्षर पटेलले ५, रविचन्द्रन आश्विनले ३, रवीन्द्र जडेजा र उमेश यादवले एक विकेट लिए ।
पहिलो खेलमा भारतले पाहुना न्यूजिल्याण्डलाई २८४ रनको लक्ष्य दिएको थियो। पहिलो पारीमा ३४७ रन बनाएको भारतले दोस्रो इनिङ्स २३४/७ को अवस्थामा समाप्तीको घोषणा गर्यो ।
भारतका लागि दोस्रो पारीमा श्रेयस अय्यर र ऋद्धिमान साहले अर्धशतकीय पारी खेले। अय्यरले १२५ बलमा आड चौका र एक छक्कासहित ६५ रन बनाए । योसँगै श्रेयसले इतिहास रचेका छन् ।
उनले डेब्यू टेष्टको दुवै पारीमा ५० भन्दा बढी रनको पारी खेल्दै इतिहास रचेका हुन् । अब अय्यर भारतको तर्फबाट डेब्यू टेष्टको दुवै पारीमा अर्धशतकभन्दा बढी रनको पारी खेल्ने पहिलो ब्याटर बनेका छन् ।
त्यस्तै, दोस्रो पारीमा साहले १२६ बलमा चार छक्का र एक चौकाको मद्दतमा अविजित ६१ रन बनाए। रविचन्द्रन आश्विन ३२, चेतेश्वर पुजारा २२, मयंक अग्रवाल १७, अजिंक्य रहाणे ४, शुभमन गिल एक र रवीन्द्र जडेजा शून्यमा आउट भए । अक्षर पटेल भने २८ रनमा अविजित रहे।
बलिङमा टिम साउथी, कायल जेमिसनले तीनतीन र एजाज पटेलले एक विकेट लिए । पहिलो पारीमा भारत ३४५ रनमा अलआउट भएको थियो ।
उसका लागि श्रेयस अय्यरले १७१ बलमा १३ चौका र दुई छक्कासहित १०५ रन बनाए। शुभमन गिलले ५२, रवीन्द्र जडेजाले ५०, रवीचन्द्रन आश्विनले ३८, कप्तान अजिंक्य रहाणेले ३५, चेतेश्वर पुजाराले २६, मयंक अग्रवालले १३ र उमेश यादवले अविजित १० रनको योगदान दिए ।
ऋद्धिमान साह (१), अक्षर पटेल (३) र इशान्त शर्मा (०) भने दोहारो अंकमासमेत जोड्न नपाउँदै आउट भए । बलिङमा टिम साउथीले २७.४ ओभरमा ६ मेडनसहित ६९ रन दिएर सर्वाधिक ५ विकेट लिए ।
त्यस्तै, कायल जेमिसनले २३.२ ओभरमा ६ मेडनसहित ९१ रन खर्चंदै ३ विकेट हात पारे । अजिज पटेलले २९.१ ओभरमा ७ मेडनसहित ९० रन दिएर २ विकेट लिए । भारत र न्यूजिल्याण्डबीचको दोस्रो टेष्ट म्याच ३ डिसेम्बरदेखि मुम्बईमा हुनेछ ।