वाई-वाई यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमति प्रदेशले दोस्रो जित हात पारेको छ।
मंगलबार मुलपानी मैदानमा भएको खेलमा बगमतिले कर्णाली प्रदेशलाई १ विकेटको झिनो अन्तरले पराजित गरेको हो।
कर्णालीले दिएको ७९ रनको झिनो लक्ष्य बागमतिले १९.५ ओभरमा ९ विकेट गुमाएर पार गर्यो।
बागमतिका लागि विवेक मगरले १८ रन जोडे। अन्य ब्याट्सम्यान सस्तैमा आउट भए।
बलिङमा कर्णालीका अनुज चुनाराले ५ विकेट लिए पनि जितका लागि पर्याप्त हुन सकेन। उनले पहिलो ओभरमै बागमतिका दुवै ओपनरलाई आउट गरेका थिए।
त्यसअघि पहिले ब्याटिङ गरेको कर्णाली २७.१ ओभरमा ७८ रनमै अलआउट भयो।
कर्णालीका लागि निश्चल रावलले सबैभन्दा बढी १५ रन जोडे।
बलिङमा बागमितका गौतम केसीले ४ विकेट लिए। विशाल यादवले ३ विकेट र कृस कार्कीले २ विकेट हात पारे।
जारी प्रतियोगितामा बागमतिले ५ खेलमा २ जित हात पारेको छ। कर्णाली भने ५ खेलमा एक जित निकाल्दै पुछारमा छ।
यता सूदूरपश्चिमले पनि दोस्रो जित हात पारेको छ। सुदूरपश्चिमले कीर्तिपुर मैदानमा भएको खेलमा गण्डकीलाई ४ विकेटले पराजित गर्यो।
गण्डकीले दिएको २१० रनको लक्ष्य सुदूरपश्चिमले ४ बल बाँकी छदा ६ विकेट गुमाएर पार गर्यो।
सुदूरपश्चिमका लागि अर्जुन साउदले ६८ रन, खडक बोहराले ४० रन र राहुल भण्डारीले नटआउट ४२ रन जोडे।
पहिले ब्याटिङ गरेको गण्डकी ४९ ओभरमा २०९ रनमा अलआउट भयो। उसका लागि दीपक डुम्रेले ५६ रन, उत्सव श्रेष्ठले ४० रन र सुवास भण्डारीले २८ रनको योगदान गरे।
बलिङमा सूदूरपश्चिमका कैलाश ऐरीले ३ विकेट लिँदा आकास चन्द र गजेन्द्र बोहराले २-२ विकेट हात पारे।