यूएईमा जारी पाँचौ संस्करणको टी-१० लिगमा बंग्ला टाइगर्सविरुद्ध डेक्कन ग्लाडियटर्सले ६२ रनको फराकिलो जित निकालेको छ।
फराकिलो जितसँगै लिग सकाएको ग्लाडियटर्सले १० खेलबाट १४ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
ग्लाडियटर्सले १० म्याच खेल्दा सातमा जित र तीन खेलमा मात्र हारको सामना गरेको छ। योसँगै ग्लायिटर्स अन्तिम चारमा पनि पुगेको छ। हार व्यहोरे पनि बंग्लाले अन्तिम चारमा स्थान सुरक्षित गरेको छ। ग्लाडियटर्सले दिएको १४२ रनको लक्ष्य पछ्याएको बंग्ला ८.३ ओभरमा ७८ रनमै अलआउट भयो।
उसका लागि इसरू उडानाले ३३, कप्तान फाफ डुप्लेसिसले १५ र जोनसन चार्लसले १० रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । बलिङमा वानिन्दु हसरंगाले २ ओभरमा एक मेडनसहित ८ रन दिएर सर्वाधिक ५ विकेट लिए।
त्यसअघि, टस हारेर ब्याटिङ गरेको ग्लाडियटर्सले निर्धारित १० ओभरमा १ विकेट गुमाएर १४० रन बनायो । उसका लागि टम-कोहलर क्याडमोरले आक्रामक पारी खेले। उनले ३९ बलमा १२ चौका र पाँच छक्काको सहयोगमा ९६ रन बनाए ।
त्यस्तै, आन्द्रे रसेलले अविजित १८ र ओडेन स्मिथले १२ रनको योगदान दिए। बलिङमा ल्यूक उडले एक विकेट हात पारे। गए राति नै भएको खेलमा दिल्ली बुल्सले चेन्नई ब्रेभ्सलाई १० विकेटले हराएको थियो।
चेन्नईले दिएको ८१ रनको लक्ष्य दिल्लीले ४.१ ओभरमै पुरा गरेको थियो। उसका लागि रहमानउल्लाह गुरबाजले मात्र १६ बलमा ६ छक्का र ५ चौकासहित ५७ रन बनाए। यस्तै ९ बल खेलेका चन्द्रपाल हेमराजले २४ रन जोडे।
त्यसअघि चेन्नईले निर्धारित १० ओभरमा ४ विकेट गुमाउँदै ८० रन जोडेको थियो।
उसका लागि कप्तान एन्जेलो परेराले सर्वाधिक ४० रन जोड्दा मार्क देयालले २२ रन जोडे।
यो सँगै ग्लाडियटर्स, बंग्ला टाइगर्स, टिम आबुधाबी र दिल्ली बुल्स अन्तिम चारमा पुगेका छन्।
आज हुने समूह चरणको अन्तिम २ खेलले समूह विजेताको टुंगो लाग्नेछ। पहिलो खेलमा बंग्ला टाइगर्सले बाहिरिसकेको नर्दन वारियर्ससँग खेल्नेछ। दोस्रो खेलमा आबुधाबीले दिल्ली बुल्सको सामना गर्नेछ।
नर्थन वारियर्स र द चेन्नई ब्रभ्स पनि अन्तिम चारको दौडबाट बाहिरिएका छन् ।