भारत र न्युजिल्यान्डबीच दोस्रो टेस्ट आजदेखि मुम्बईको वाङ्खाडे रंगशालामा सुरू हुँदैछ। आउटफिल्ड गिलो भएका कारण टसमा ढिलाइ भएको छ।
खेल सुरु हुनुअघि दुवै टिमका गरी चार खेलाडी मैदान बाहिर हुने पक्का भइसकेको छ। चारै खेलाडी चोटका कारण मैदान बाहिर हुने भएका छन्।
दोस्रो टेस्ट गुमाउनेमा भारतका तीन र न्युजिल्यान्डका एक खेलाडी छन्।
भारतका तीव्र गतिका बलर इशान्त शर्मा, अलराउन्डर रविन्द्र जडेजा र ब्याट्सम्यान अजिन्का राहाणेले चोटका कारण खेल गुमाउन लागेका हुन्। यस्तै न्युजिल्यान्डका कप्तान केन विलियमसन पनि खेलमा हुनेछैनन्।
इशान्तको बायाँ हातको कान्छी औला चोट लागेको छ। कानपुर टेस्टको अन्तिम दिन उनको औलामा चोट लागेको थियो।
यस्तै विराट कोहलीको अनुपस्थितिमा भारतीय टिमको कप्तानी गरेका राहाणेलाई ह्यामस्ट्रिङ्गको समस्या छ। उनी पनि कानपुर टेस्टको अन्तिम दिन घाइते भएका थिए। जसका कारण उनले मुम्बई टेस्ट गुमाउने भएका हुन्।
जडेजाको दायाँ पाखुरामा चोट छ। उनी पनि पहिलो टेस्टका दौरान घाइते भएका थिए। पाखुरा सुनिने समस्या भएपछि उनलाई दोस्रो टेस्टमा आराम दिइएको हो।
यता न्युजिल्यान्डका कप्तान विलियमसनको कुहिँनामा चोट लागेको छ। विलियमसनलाई सन् २०२१ मा कुहिँनाले लगातार समस्या दिइरहेको छ। अब उनको अनुपस्थितिमा टम लाथमले न्युजिल्यान्डको कप्तानी गर्नेछन्।