डेक्कन ग्लाडियटर्स र दिल्ली बुल्स युएईमा जारी पाँचौं संस्करणको टी-१० लिगको फाइनलमा पुगेका छन्। गएराति अबुधाबीमा भएको पहिलो क्लालिफायरमा दिल्ली बुल्सलाई १७ रनले हराउँदै ग्लाडियटर्स उपाधि नजिक पुगेको हो।
ग्लाडियटर्सले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित १० ओभरमा ५ विकेट गुमाएर १२२ रन मात्र बनाउन सक्यो । उसका लागि इयोन मोर्गनले आक्रामक पारी खेल्दै ८ बलमा २७ रन बनाए पनि टिमलाई जिताउन सकेनन् ।
त्यस्तै, चन्द्रपउल हेमराज २४, शेरफन रदरफोर्ड २१ र रहमानुल्लाह गुर्बाज १९ रनमा आउट भए । रोमियो सेफर्ड १६ रनमा अविजित रहे। बलिङमा आन्द्रे रसेलले २ ओभरमा २७ रन दिएर सर्वाधिक २ विकेट लिए। त्यस्तै, वानिन्दु हसरंगा, ट्यामिल मिल्स र ओडीन स्मिथले एक/एक विकेट हात पारे।
त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको ग्लाडियटर्ससले निर्धारित १० ओभरमा ४ विकेट गुमाउँदै १ सय ३९ रन बनायो ।
उसका लागि आन्द्रे रसेलले आक्रामक पारी खेल्दै १४ बलमा तीन छक्का र चार चौकासहित ३९ रन बनाए। त्यस्तै, डेविड भिसेले ३१, ओडीन स्मिथले अविजित ३० र टम-कोहलर क्याडमोरले २३ रन जोडे।
दिल्लीका लागि डोमेनिक ड्रिक्सले २ ओभरमा १५ रन दिएर ३ विकेट लिए।
ग्लाडियटर्सले अब उपाधिका लागि पुनः दिल्लीसँग खेल्ने भएको छ।
यसअघि हिजै भएको दोस्रो क्वालिफायरमा टिम अबुधाबीलाई ४९ रनले हराउँदै दिल्ली फाइनलमा पुग्यो।
दिल्लीले दिएको ११० रनको लक्ष्य पछ्याएको अबुधाबी ८.३ ओभरमा अलआउट हुँदै ६० रनमा समेटिएको थियो।
अबुधाबीलाई सस्तैमा रोक्न दिल्लीका डोमेनिक ड्रिक्सले २ ओभरमा १३ रन खर्चिएर ४ विकेट लिए। फजलहक फारुकीले २ ओभरमा ५ रन खर्चिएर ३ विकेट लिँदा रोमारियो शेफर्डले १ ओभरमा ३ रन खर्चिएर २ विकेट लिए। आदिल रासिदले अन्तम विकेट लिए।
पहिलो ओभरमा २३ रन जोडेको अबुधाबीले थप २७ रन बनाउँदा सबै विकेट गुमायो।
त्यसअघि दिल्लीले निर्धारित १० ओभरमा ७ विकेट गुमाउँदै १०९ रन बनायो। उसका लागि मारियो शेफर्डलेले सर्वाधिक २६ रन बनाए।
अब अबुधाबीले तेस्रो स्थानका लागि बंगला टाइगर्ससँग खेल्नेछ।