नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी उपकप्तान सीता रानामगरले हङकङको टी-२० फ्रेञ्चाइज क्रिकेट प्रतियोगिता खेल्ने भएकी छिन्।
फेयर ब्रेक इन्भिटेसनल २०२२ प्रतियोगिताका लागि छनोट भएकी सीता विदेशी फ्रेञ्चाइज लिग खेल्ने पहिलो नेपाली खेलाडी समेत भएकी छिन्।
फेयर ब्रेक इन्भिटेसनल २०२२ अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट मान्यताप्राप्त महिला टि-२० क्रिकेट प्रतियोगिता हो।
यो प्रतियोगिता आगामी २०२२ को मे १ देखि मे १५ हुनेछ। ६ टिम सम्मिलित प्रतियोगितामा भारतकी हर्मप्रित कौर, पाकिस्तानकी सना मिर जस्ता विश्वका चर्चित खेलाडीहरूको सहभागिता रहनेछ।
लैङ्गिक समानता र महिलालाई समाजको मुलधारमा ल्याउने उदेश्यका साथ यस प्रति आयोजना हुँदैछ। प्रतियोगितामा सीता कुन टोलीबाट खेल्ने भन्ने बारे टुंगो लाग्न बाँकी छ।
सीताले अन्तर्राष्ट्रिय क्रिकेटमा सन् २००७ मा डेब्यु गरेकी थिइन्। सीताको कोहलपुर, बाँकेबाट सुरुवात भएको थियो।
यसैबीच सीता र क्विन्स इभेन्ट मेनेजमेन्टले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। सम्झौता अनुरुप अब क्विन्स इभेन्टले सीतालाई एजेन्सी सेवा प्रदान गर्नेछ।
यस अन्तर्गत नेपाली तथा अन्तर्राष्ट्रिय क्षेत्रका व्यवसायिक घराना र अन्य ब्राण्डहरुलाई प्रायोजनका लागि खेलाडीसम्म जोडाउने काम क्विन्स इभेन्टले गर्नेछ।
यस्तै देश बाहिर आयोजना हुने महिला क्रिकेट प्रतियोगिता र फ्रेञ्चाइज लिगहरुमा खेलाडीको सहभागिताका लागि आवश्यक पहल र व्यवस्थापन समेत क्विन्स इभेन्टले गर्नेछ।
यहि सम्झौताअनुसार क्विन्स इभेन्टले सीतालाई हङकङको प्रतियोगितामा सहभागी गराउन पहल गरेको थियो।