मुम्बईमा भइरहेको भारतविरूद्धको दोस्रो टेस्टमा न्युजिल्यान्डको प्रदर्शन सन्तोषजनक छैन। तेस्रो दिनको खेल चलिरहदा घरेलु टिम भारतले बढाइरहेको छ।
टिमले सोचेजस्तो प्रदर्शन नगरे पनि न्युजिल्यान्डका बलर एजाज पटेलले दोस्रो दिन दुर्लभ कीर्तिमान बनाउन सफल भए।
भारतविरूद्धको पहिलो इनिङ्समा उनले सबै १० विकेट लिन सफल भए। मुम्बईमा जन्मिएका ३३ वर्षीय पटेल आफ्नो जन्मभूमिमा उत्कृष्ट बलिङसँगै टेस्ट क्रिकेटको एकै इनिङ्ग्समा १० विकेट लिने विश्वका तेस्रो बलर बने।
यसअघि दुई बलरले मात्र टेस्टको एकै इनिङ्ग्समा १० विकेट लिन सफल भएका थिए। इंग्ल्यान्डका अफ स्पिनर जिम लेकरले सन् १९५६ मा पहिलो पटक एकै इनिङ्ग्समा १० विकेट लिने कीर्तिमान बनाएका थिए। म्यानचेस्टरमा भएको खेलमा लेकरले अस्ट्रेलियाविरूद्धको खेलमा ५१.२ ओभरमा ५३ रन खर्चिएर १० विकेट लिएका थिए। उनले त्यतिबेला २३ ओभर मेडन फ्याँकेका थिए।
लेकरले १० विकेट लिएको ४३ वर्षपछि भारतका अनिल कुम्ब्लेले पनि एकै इनिङ्ग्समा १० विकेट लिने कीर्तिमान बनाए। स्पिनर कुम्ब्लेले सन् १९९९ मा दिल्लीमा भएको खेलमा चिरप्रतिद्वन्द्वी पाकिस्तानविरुद्ध १० विकेट लिएका थिए। उनले २६.३ ओभर बलिङ गर्दा ७४ रन खर्चिएका थिए भने ९ मेडन राखेका थिए।
न्युजिल्यान्डका बायाँ हाते स्पिनर पटेलले भारतविरुद्ध पहिलो इनिङ्ग्समा सबै १० विकेट लिने क्रममा पहिलो दिन शुक्रबार र दोस्रो दिन शनिबार गरी ४७.५ ओभर बलिङ गरेका थिए। जसमा उनले १२ मेडन राख्दा ११९ रन खर्चिए।
एजाजले पहिलो दिन ४ विकेट लिँदा दोस्रो दिन ६ विकेट लिँदै २२ वर्षपछि १० विकेट लिने कीर्तिमान राख्न सफल भए। उनले लिएका १० मध्ये पाँच क्याच आउट थिए। भारतका दुई ब्याट्सम्यानलाई बोल्ड गरेका उनले तीन ब्याट्सम्यानलाई एलबिडब्लूको धरापमा पार्न सफल भए। पटेलको १० विकेटसँगै भारत पहिलो इनिङ्गसमा ३२५ रनमा अलआउट भयो।
एजाजको परिवार सन् १९९६ मा मुम्बईबाट न्युजिल्यान्ड पुगेको थियो। त्यहाँ पुगेपछि क्रिकेट वातावरणमा हुर्किएका पटेलले न्युजिल्यान्डको राष्ट्रिय टिममा डेब्यू भने ३० वर्षको उमेरमा गरेका थिए।
उनले सन् २०१८ मा अबुधावीमा पाकिस्तानविरूद्धको टी-२० र टेस्ट खेल्दै राष्ट्रिय टिममा डेब्यू गरेका थिए। त्यसअघि उनले न्युजिल्यान्डको घरेलु क्रिकेट खेल्ने मात्र अवसर पाएका थिए।
डेब्यू गरेयता उनले १० टेस्टमा २९ विकेट लिएका थिए। जसमा उनको उत्कृष्ट प्रदर्शन ५ विकेट लिएर ५९ रन दिनु थियो। मुम्बईमा ११औं टेस्टमा खेल्दा पहिलो इनिङ्ग्समा १० विकेट लिएसँगै उनी चर्चामा आउन सफल भए।
न्युजिल्यान्डमा रहेका नातेदारमार्फत पटेलको परिवार त्यहाँ बसाइ सरेको थियो। भारतको मध्यम परिवारमा जन्मिएका पटेल कुनै समय तीव्र गतिका बलर बन्न चाहान्थे। तर तीव्र गतिको बलर बन्ने चाहानामा आफ्नो उचाइ कम रहेको महसुस गर्दै उनी स्पिन बलिङमा केन्द्रीत हुन थालेका थिए। जसमा उनी सफल हुँदै ३३ वर्षको उमेरमा दुर्लभ कीर्तिमान बनाउन सफल भए।