लुम्बिनी प्रदेशले वाई-वाई यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको फाइनल भिडन्तमा सुदूरपश्चिम प्रदेशलाई ११३ रनको फराकिलो अन्तरले पराजित गर्दै लुम्बिनी च्याम्पियन बनेको हो।
लुम्बिनीले दिएको २१३ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमै अलआउट भयो।
सुदूपश्चिमका लागि लोकेश बमले सबैभन्दा बढी २५ रनको योगदान दिए। शेर मल्लले १५ रन जोड्दा ओपनर तथा कप्तान खडक बोहराले २१ रन बटुले।
सुदूरपश्चिमलाई सस्तैमा समेट्ने क्रममा लुम्बिनीका अयज चौहानले ५ विकेट लिए। प्लेयर अफ दि फाइनल भएका उनले ५.३ ओभरमा २० रन दिए। दुर्गेश गुप्ताले ३ विकेट र मोहमद हुसेनले २ विकेट हात पारे।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनी ५० ओभरमा २१२ रनमा अलआउट भयो। लुम्बिनीका लागि कप्तान देव खनालले ७० रन जोडे। उनले ९५ बलमा ५ चौका र ४ छक्का हिर्काए।
यस्तै विशालविक्रम केसीले ५१ रनको योगदान दिए भने प्रज्वल थापाले २४ रन र दुर्गेश गुप्ताले ३२ रन जोडे।
बलिङमा सुदूरपश्चिमका आकाश चन्दले ३ विकेट लिए। शेर मल्ल र हेमन्त धामीले २-२ विकेट लिए।
प्रतियोगितामा २१ विकेट लिएका लुम्बिनीका मोहमद हुसेन प्लेयर अफ दि सिरिज घोषित भए।