न्युजिल्यान्डविरूद्धको दोस्रो टेस्टमा घरेलु टिम भारतले सानदार जित हात पारेको छ। मुम्बईमा भएको दोस्रो टेस्टमा भारतले चौथो दिनमा नै जित निकाल्ने क्रममा न्युजिल्यान्डलाई ३७२ रनले पराजित गरेको हो।
यसअघि पहिलो टेस्ट बराबरीमा सकिएको हुँदा भारतले दुई खेलको टेस्ट सिरिज १-० ले आफ्नो पक्षमा पारेको छ।
भारतले दिएको ५४० रनको लक्ष्य पछ्याएर ब्याटिङ गरेको न्युजिल्यान्ड दोस्रो इनिङ्ग्समा १६७ रनमै अलआउट भयो। न्युजिल्यान्डका लागि दोस्रो इनिङ्ग्समा ड्यारल मिचेलले सर्वाधिक ६० रन जोडे।
चौथो दिन ५ विकेटको क्षतिमा १४० रनको स्थितिमा ब्याटिङ थालेको न्युजिल्यान्ड पाँच ओभर पनि पूरा नखेली अलआउट भएको थियो।
दोस्रो इनिङ्ग्समा बलिङमा भारतका जयन्त यादव र रविचन्द्रन आस्विनले ४-४ विकेट लिए। अक्षर पटेलले १ विकेट हात पारे।
त्यसअघि दोस्रो इनिङ्ग्समा भारतले ७ विकेटको क्षतिमा २६७ बनाएर इनिङ्ग्स समाप्तीको घोषणा गरेको थियो। जसका कारण न्युजिल्यान्डले ५४० रनको विशाल लक्ष्य पाएको थियो। दोस्रो इनिङ्ग्समा भारतका लागि मयंक अग्रवालले सर्वाधिक ६२ रन जोडे।
बलिङमा न्युजिल्यान्डका एजाज पटेलले ४ विकेट लिए भने रचिन रविन्द्रले ३ विकेट हात पारे।
त्यसअघि पहिलो इनिङ्ग्समा भारतले ३२५ रन जोड्दा न्युजिल्यान्ड ६२ रनमै अलआउट भएको थियो।
पहिलो इनिङ्ग्समा भारतका लागि मयंक अग्रवालले १५० रन र अक्षर पटेल ५२ रन जोडेका थिए। बलिङमा न्युजिल्यान्डका एजाज पटेलले सबै १० विकेट लिए। उनले दुवै इनिङ्ग्समा गरी १४ विकेट लिन सफल भए।
न्युजिल्यान्डका लागि पहिलो इनिङ्ग्समा केल जेमिसनले सबैभन्दा बढी १७ रन जोडे। बलिङमा भारतका आस्विनले ४ विकेट लिँदा मोहमद सिरिजले ३ विकेट, अक्षर पटेलले २ विकेट र जयन्द यादवले १ विकेट हात पारे।
टेस्टको एकै इनिङ्ग्समा १० विकेट लिएर दुर्लभ कीर्तिमान बनाएका एजाज
टिमले सोचेजस्तो प्रदर्शन नगरे पनि न्युजिल्यान्डका बलर एजाज पटेलले दोस्रो दिन दुर्लभ कीर्तिमान बनाए।
भारतविरूद्धको पहिलो इनिङ्समा उनले सबै १० विकेट लिन सफल भए। मुम्बईमा जन्मिएका ३३ वर्षीय पटेल आफ्नो जन्मभूमिमा उत्कृष्ट बलिङसँगै टेस्ट क्रिकेटको एकै इनिङ्ग्समा १० विकेट लिने विश्वका तेस्रो बलर बने।
यसअघि दुई बलरले मात्र टेस्टको एकै इनिङ्ग्समा १० विकेट लिन सफल भएका थिए। इंग्ल्यान्डका अफ स्पिनर जिम लेकरले सन् १९५६ मा पहिलो पटक एकै इनिङ्ग्समा १० विकेट लिने कीर्तिमान बनाएका थिए। म्यानचेस्टरमा भएको खेलमा लेकरले अस्ट्रेलियाविरूद्धको खेलमा ५१.२ ओभरमा ५३ रन खर्चिएर १० विकेट लिएका थिए। उनले त्यतिबेला २३ ओभर मेडन फ्याँकेका थिए।
लेकरले १० विकेट लिएको ४३ वर्षपछि भारतका अनिल कुम्ब्लेले पनि एकै इनिङ्ग्समा १० विकेट लिने कीर्तिमान बनाए। स्पिनर कुम्ब्लेले सन् १९९९ मा दिल्लीमा भएको खेलमा चिरप्रतिद्वन्द्वी पाकिस्तानविरुद्ध १० विकेट लिएका थिए। उनले २६.३ ओभर बलिङ गर्दा ७४ रन खर्चिएका थिए भने ९ मेडन राखेका थिए।
न्युजिल्यान्डका बायाँ हाते स्पिनर पटेलले भारतविरुद्ध पहिलो इनिङ्ग्समा सबै १० विकेट लिने क्रममा पहिलो दिन शुक्रबार र दोस्रो दिन शनिबार गरी ४७.५ ओभर बलिङ गरेका थिए। जसमा उनले १२ मेडन राख्दा ११९ रन खर्चिए।
एजाजले पहिलो दिन ४ विकेट लिँदा दोस्रो दिन ६ विकेट लिँदै २२ वर्षपछि १० विकेट लिने कीर्तिमान राख्न सफल भए। उनले लिएका १० मध्ये पाँच क्याच आउट थिए। भारतका दुई ब्याट्सम्यानलाई बोल्ड गरेका उनले तीन ब्याट्सम्यानलाई एलबिडब्लूको धरापमा पार्न सफल भए। पटेलको १० विकेटसँगै भारत पहिलो इनिङ्गसमा ३२५ रनमा अलआउट भयो।
एजाजको परिवार सन् १९९६ मा मुम्बईबाट न्युजिल्यान्ड पुगेको थियो। त्यहाँ पुगेपछि क्रिकेट वातावरणमा हुर्किएका पटेलले न्युजिल्यान्डको राष्ट्रिय टिममा डेब्यू भने ३० वर्षको उमेरमा गरेका थिए।
उनले सन् २०१८ मा अबुधावीमा पाकिस्तानविरूद्धको टी-२० र टेस्ट खेल्दै राष्ट्रिय टिममा डेब्यू गरेका थिए। त्यसअघि उनले न्युजिल्यान्डको घरेलु क्रिकेट खेल्ने मात्र अवसर पाएका थिए।
डेब्यू गरेयता उनले १० टेस्टमा २९ विकेट लिएका थिए। जसमा उनको उत्कृष्ट प्रदर्शन ५ विकेट लिएर ५९ रन दिनु थियो। मुम्बईमा ११औं टेस्टमा खेल्दा पहिलो इनिङ्ग्समा १० विकेट लिएसँगै उनी चर्चामा आउन सफल भए।
न्युजिल्यान्डमा रहेका नातेदारमार्फत पटेलको परिवार त्यहाँ बसाइ सरेको थियो। भारतको मध्यम परिवारमा जन्मिएका पटेल कुनै समय तीव्र गतिका बलर बन्न चाहान्थे। तर तीव्र गतिको बलर बन्ने चाहानामा आफ्नो उचाइ कम रहेको महसुस गर्दै उनी स्पिन बलिङमा केन्द्रीत हुन थालेका थिए। जसमा उनी सफल हुँदै ३३ वर्षको उमेरमा दुर्लभ कीर्तिमान बनाउन सफल भए।