श्रीलंकाको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका दुई कर्मचारीको हात्तिको आक्रमणमा परी मृत्यु भएको छ। रंगशालाबाट घरतर्फ गइरहेका बेला उनीहरुलाई मङ्लबार बेलुका हात्तिले आक्रमण गरेको अधिकारीहरुले जनाएका छन्।
हाम्बान्तोतामा रहेको सुरियावेवा महिन्दा राजापाक्ष अन्तर्राष्ट्रिय रंगशालामा कार्यरत उनीहरु दुवै जना पुरुष हुन्। उनीहरुलाई एउटै हात्तिले आक्रमण गरेको थियो। घटना भएको ठाउँ पहिलेदेखि नै हात्तिको आतंक हुने गरेको ठाउँ हो।
जंगली तथा ग्रामिण क्षेत्रमा पर्ने घटनास्थलमा यसअघि पनि हात्ति र मानिसकाबीचमा द्वन्द्व हुने गरेको स्थानीयहरुले बताएका छन्।
रंगशालाका कर्मचारीहरु यही महिनाको अन्त्यतिर हुने लंका प्रिमियर लिगको सेमि फाइनल र फाइनल खेलका लागि तयारीको कार्य गर्न जुटेका थिए।