काठमाडौं जिल्ला क्रिकेट संघको रिक्त सदस्यमा दिवाकर घले र किरण शमेसर जबरा निर्वाचित भएका छन्।
शनिबार सम्पन्न दोस्रो साधारण सभाले घले र जबरालाई जिल्ला क्रिकेट संघको सदस्य निर्वाचित गरेको हो। यसअघि प्रफुल्ल वैद्य र महेश्वरी डंगोलले राजीनामा दिएपछि सदस्य पद रिक्त थियो।
यस्तै साधारण सभाले ठाकुर प्रताप थापा, सुमन शर्मा र थुप्तेन शेर्पालाई सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको छ।
कार्यक्रममा काठमाडौं जिल्ला क्रिकेट संघका अध्यक्ष अमितवीर पाण्डेले काठमाडौं जिल्ला क्रिकेट संघ क्रिकेट विकासमा सधैं अग्रपंक्ति रहेको र आगामी दिनमा पनि रहने बताए। उनले गत दुई वर्ष कोभिड-१९ का कारण काम गर्न नसकेको बताउँदै अब उत्साहका साथ काम गर्ने प्रतिवद्धता व्यक्त गरे।
कार्यक्रममा सचिव बसन्त सत्यालले सन् २०२२ को वार्षिक कार्यक्रम प्रस्तुत गरेका थिए। उनले प्रस्तुत गरेको कार्यक्रममा छलफल गर्दै सर्वसम्मतले पारित समेत गरिएको छ।
यसअघि नेपाल क्रिकेट (क्यान) ले जिल्ला क्रिकेट संघहरूलाई साधारणसभा गर्न निर्देशन दिएको थियो। सोहीअनुसार जिल्ला क्रिकेट संघहरूले साधारणसभा गरिरहेका छन्।
क्यानको वार्षिक साधारण सभा आगामी पुस दोस्रो साता कैलालीमा हुँदैछ। सो साधारण सभामा रिक्त रहेको क्यानको उपाध्यक्ष र सचिवको पदपूर्ति हुनेछ। यसका लागि आकांक्षी रहेका दिवाकर घले काठमाडौंको सदस्य हुँदै केन्द्रमा पुग्ने तयारी गरेको क्रिकेटबृत्तमा चर्चा छ।