पाकिस्तानले वेस्ट इन्डिजविरूद्धको टी-ट्वान्टी सिरिज एक खेर्ल अगावै जितेको छ।
कराँचीमा मंगलबार राति भएको दोस्रो खेलमा वेस्ट इन्डिजलाई ९ रनले हराउँदै घरेलु टोली पाकिस्तानले एक खेल अगावै ३ खेलको सिरिजमा २-० को जित निकालेको हो।
पाकिस्तानले दिएको १ सय ७२ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय ६३ रन मात्र बनाउन सक्यो ।
उसका लागि ब्राण्डन किङले सर्वाधिक ६७ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै रोमारियो शेफर्डले अविजित ३५ रन जोड्दा कप्तान निकोलस पुरनले २६ रन जोडे पनि हारबाट बचाउन सकेनन्।
पाकिस्तानका शाहिन शाह अफ्रिदीले सर्वाधिक ३ विकेट लिए । यस्तै मोहमद नवाज, मोहमद वासिम र हरिस राउफले २-२ विकेट हात पारे।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७२ रन बनाएको थियो।
पाकिस्तानका लागि मोहम्मद रिजवानले सर्वाधिक ३८ रन बनाए। इफ्तिखर अहमेदले ३२ रन जोड्दा हेइदर अलीले ३१ रन बनाए । शादब खान २८ रनमा अविजित रहे।
वेस्ट इन्डिजका ओडीएन स्मिथले २ विकेट लिएका थिए।
यसअघि पहिले खेलमा पाकिस्तानले वेस्ट इन्डिजलाई ६३ रनले हराएको थियो।
अब तेस्रो तथा अन्तिम खेल भोलि बिहिबार हुनेछ।