विराट कोहलीले दक्षिण अफ्रिकाविरूद्ध खेल्ने भारतीय टेस्ट टिम घोषणा हुनुभन्दा डेढ घण्टाअघि मात्र आफूलाई एकदिवसीय टिमको कप्तान नहुने जानकारी गराइएको बताएका छन्।
भारतको टेस्ट टिमका कप्तान कोहलीले राष्ट्रिय टिमका मूख्य छनोटकार्ता चेतन शर्माले एकदिवसीय टिमको कप्तान नहुने विषयमा जानकारी दिएको बताएका हुन्।
कोहलीले आफू दक्षिण अफ्रिकाविरूद्धको एकदिवसीय सिरिजका लागि उपलब्ध हुने पनि पुष्टि गरेका गरेका छन्।
भारतीय टिम दक्षिण अफ्रिका जानुअघि गरिएको भर्चुअल पत्रकार सम्मेलनमा कोहलीले आफूले नबोलेको कुरा प्रचार भएकोमा दु:ख व्यक्त गरेका छन्। उनले यसअघि एकदिवसीय सिरिजका लागि बिदा मागेको भन्ने कुरा झुट भएको बताएका छन्।
कोहलीले पत्रकार सम्मेलनमा भने, 'टेस्ट सिरिजका लागि छनोट बैठक हुनुभन्दा डेढ घण्टाअघि सम्पर्क गरिएको थियो। मैले टी-२० कप्तान छाड्ने घोषणा गरेपछि मलाई कुनै सम्पर्क गरिएको थिएन। जब मलाई छनोट बैठकअघि फोन आयो, मुख्य चयनकर्ताले मसँग टेस्ट टोलीको बारेमा छलफल गरे, जसमा हामी दुवै सहमत भयौं। र कल समाप्त हुनुअघि मलाई पाँच जना चयनकर्ताहरूले म एकदिवसीय कप्तान नबन्ने निर्णय गरेको भनेका थिए, जसको जवाफ मैले 'ठीक छ, ठीक छ', भनेर दिएँ।'
भारतले कोहलीको स्थानमा रोहित शर्मालाई एकदिवसीय टोलीको नेतृत्व सुम्पिएको छ। यस्तै टी-२० मा पनि रोहित नै कप्तान छन्।
दक्षिण अफ्रिकाविरुद्ध तीन खेलको टेस्ट सिरिजपछि हुने एकदिवसीय सिरिजका लागि कोहलीले सम्भवतः बिदा मागेको चर्चा चलेको थियो।
कोहलीले यो कुरालाई खारेज गर्दै भने, 'म सधैं छनोटको लागि उपलब्ध थिएँ र छु। मैले आराम गर्न चाहेको,अर्को कार्यक्रममा भाग लिन्छु भनेर भनिएको छ, त्यो बिल्कुलै सत्य होइन। जसले यी कुराहरू लेखिरहेका छन्, मेरो लागि तिनीहरू पूर्ण रूपमा विश्वसनीय छैनन्। म दक्षिण अफ्रिकामा एकदिवसीय खेलका लागि उपलब्ध छु र म सधैं खेल्न इच्छुक छु।'
उनले रोहितसँग आफ्नो कुनै समस्या नभएको पनि बताए। उनले भने, 'मेरो र रोहित शर्माबीच कुनै दरार छैन। यो कुरा मैले विगत साढे दुई वर्षदेखि स्पष्ट पार्दै आएको छु। अब म स्पष्ट पार्दा पार्दा थाकिसके। जबसम्म क्रिकेट खेल्छु मैले मेरो टिमलाई तल पार्ने कुनै काम गर्ने छैन। अब मेरो जिम्मेवारी भनेको रोहित र राहुल द्रबिडसँग मिलेर टिमलाई सही दिशामा अघि बढाउन सहयोग गर्ने हो।'
भारतले दक्षिण अफ्रिकाविरुद्ध तीन टेस्ट खेल्दैछ, पहिलो टेस्ट २६ डिसेम्बरमा हुनेछ। त्यसपछि भारत र दक्षिण अफ्रिकाबीच एकदिवसीय सिरिज हुनेछ।