नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटरहरू ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीमाथि अन्यायपूर्ण कारबाही गरेको क्यानकै केन्द्रीय सदस्यहरूले बताएका छन्।
खेलाडी वर्गीकरणको विषयमा आवाज उठाउँदा कारबाही गर्नु उचित नभएको उनीहरूको भनाइ छ।
गत कात्तिक पहिलो साता राष्ट्रिय क्रिकेटरको वर्गीकरणमा त्रुटि भएको भन्दै कप्तान ज्ञानेन्द्रले कार्यवहाक सचिव प्रशान्तविक्रम मल्ललाई फोन गरेका थिए। तर एक साता भन्दा बढि समयसम्म पनि वर्गीकरणको त्रुटिको विषयमा कुनै छलफल नभएपछि खेलाडीहरूले सेतोपाटीमा आफ्नो असन्तुष्टि व्यक्त गरेका थिए। त्यसपछि क्यानले खेलाडीहरूलाई दुई पटकसम्म स्पष्टीकरण सोधेको थियो।
आफ्ना असन्तुष्टि राखेकै भरमा क्यानको बुधबार बसेको बोर्ड बैठकले ज्ञानेन्द्रलाई कप्तान र दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारीबाट हटायो। यस्तै ज्ञानेन्द्र र दीपेन्द्रसहित सोमपाल र कमललाई सन् २०२२ को पहिलो ६ महिना वर्गीकरणमा समावेश नगर्ने निर्णय गर्यो। यद्यपी यो निर्णय बहुमतको आधारमा गरिएको थियो। खेलाडी कारबाही गर्ने निर्णयमा ६ जना केन्द्रीय सदस्यले नोट अफ डिसेन्ट लेखेका थिए।
खेलाडीमाथिको कारबाही गर्ने क्यानको निर्णय अन्यायपूर्ण भएको केन्द्रीय सदस्य छुम्बी लामा बताउँछन्।
‘राष्ट्रिय टिमलाई इमानदारीपूर्वक सेवा गरेका अब्बल खेलाडीलाई क्यानले राष्ट्रिय टिमको कप्तानबाट अस्वाभाविक रुपमा हटाउनु, कुनै पूर्वसंवाद नगरी पदच्युत गरिनु उग्रवादी र अपमानजनक निर्णय हो। अभिभावकीय भूमिकालाई बेवास्ता गर्दै क्यानले यो हदसम्मको अपरिपक्वता प्रस्तुत गर्नु जायज होइन,’ उनले भने।
खेलाडीले आफ्नो असन्तुष्टि राख्दा कारबाही नै अन्तिम विकल्प नभएको अर्का केन्द्रीय सदस्य अमितविर पाण्डे बताउँछन्। उनी भने, ‘कारबाही समस्याको समाधान होइन र न्यायपूर्ण हुँदैन भनेर हामीले भनेका हौं, कारबाही गर्ने हो भने हाम्रो समर्थन हुन्न भन्दाभन्दै पनि उहाँहरूले बहुमतको आधारमा निर्णय गर्नुभयो।’
क्यानका अध्यक्ष चतुरबहादुर चन्द भने क्यानको अनुमतिबिना कुनै पनि खेलाडीले बोल्न नपाउने बताउँछन्।
‘क्यानको अनुमतिबिना बोल्न नपाइने कुरा आचारसंहितामा छ। त्यसमा केही खेलाडीले हस्ताक्षर गर्नु भएको छ। त्यो उल्लंघन गरेको देखियो। सफाइको मौका दिन पनि सफाइ दिनुको सट्टा क्यानसँग उल्टै स्पष्टीकरण मागेको देखियो,’ चन्दले भने।
तर खेलाडीहरूले आफ्ना असन्तुष्टि राख्न पाउने केन्द्रीय सदस्य लामा बताउँछन्। उनले भने, ‘वाक् स्वतन्त्रता अभ्यास गर्दा, अन्यायमा परेका खेलाडीको लागि आवाज उठाउँदा, आफ्नो नैसर्गिक अधिकारलाई प्रयोग गर्दा क्यानले गरेको यो निर्णय अतिवादी हो।’
आफूलाई कारबाही गर्ने विषयमा खेलाडीहरूले केही प्रतिक्रिया दिइसकेका छैनन्। यद्यपी राष्ट्रिय टिमका केही खेलाडीहरूले भने इन्स्टाग्राममार्फत विरोध जनाइसकेका छन्।
क्यानले खेलाडीमाथि कारबाही गर्ने निर्णय इन्स्टाग्रामको स्टोरीमा राख्दै खेलाडीले ‘आई एम डन’ भनेर लेखेका छन्। यसको संकेत आफूहरूले पनि छाड्ने देखिन्छ। इन्स्टाग्राममा विरोध जनाउनेमा करण केसी, कुशल भुर्तेल, अभिनास बोहरा, रोहितकुमार पौडेल र विनोद भण्डारी छन्।
खेलाडीमाथिको कारबाहीलाई लिएर समाजिक सञ्जालमा अधिकांसले विरोध गरेका छन्। आफ्नो असन्तुष्टि व्यक्त गरेकै भरमा खेलाडीमाथि कारबाही गर्नु उचित नभएको अधिकांसको भनाइ छ।
सम्बन्धित समाचार : राष्ट्रिय क्रिकेटरको वर्गीकरणमा व्यापक असन्तुष्टि, क्रिकेटर भन्छन्- अभिभावकबाट मिहिनेतको कदर भएन (भिडिओ)