पाकिस्तानले वेस्ट इन्डिजविरुद्धको टी-ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ।
कराँचीमा बिहीबार राति भएको तेस्रो तथा अन्तिम खेलमा वेष्टइन्डिजलाई ७ विकेटले हराउँदै पाकिस्तानले सिरिज ३-० ले आफ्नो बनाएको हो ।
वेष्टइण्डिजले दिएको २०८ रनको लक्ष्य पाकिस्तानले १८.५ ओभरमा मात्र ३ विकेट गमुाएर पूरा गर्यो। उसका लागि कप्तान बाबर आजम र मोहम्मद रिजवानले उत्कृष्ट पारी खेले।
रिजवानले ४५ बलमा १० चौका र तीन छक्कासहित ८७ रनको योगदान दिए। बाबरले ५३ बलमा ९ चौका र २ छक्काको सहयोगमा ७९ रन बनाए। फखर जमान १२ रनमा आउट हुँदा आसिफ अली २१ र इफ्तिखर अहमद १ रनमा अविजित रहे।
बलिङमा ओडीन स्मिथ, डोमेनिक ड्रिक्स र रिमियो शेफर्डले एकएक विकेट लिए ।
त्यसअघि, कराँची नेसनल स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको वेष्ट इण्डिजले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २०७ रन बनायो। उसका लागि कप्तान निकोलश पूरनले अर्धशतकीय पारी खेले। टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा उत्कृष्ट पारी खेलेका उनले ३६ बलमा ६ छक्का र दुई चौकासहित ६४ रन बनाए ।
त्यस्तै, ब्रेण्डन किंग र शामर ब्रुक्सले पनि उत्कृष्ट पारी खेले। ब्रुक्सले ३१ बलमा चार छक्का र दुई चौकासहित ४९ र किंगले २१ बलमा सात चौका र दुई छक्काको सहयोगमा ४३ रनको योगदान दिए । त्यस्तै, डारेन ब्रावो ३४ र रोभम्यान पावेल ६ रनमा अविजित रहे।
बलिङमा मोहम्मद वासिमले दुई र शाहनवाज दहनीले एक विकेट लिए।
सिरिज अन्तर्गत पहिलो खेलमा पाकिस्तानले ६३ रनको जित निकालेको थियो भने दोस्रो खेलमा पाकिस्तानले वेस्ट इन्डिजलाई ९ रनले हराएको थियो।