युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक)ले क्रिकेट खेलाडीलाई गरिएको कारबाहीमाथि पुर्नविचार गर्न आग्रह गरेका छन्।
शुक्रबार नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरुलाई मन्त्रालयमा बोलाएर मन्त्री अथकले कारबाहीको निर्णय पुर्नविचार गर्न आग्रह गरेको खेलकुद मन्त्रीका प्रेस संयोजक संगिन शर्माले जनाएका छन्।
क्रिकेट खेलमार्फत् नेपाललाई विश्वसामु चिनाउन योगदान गरेका खेलाडीहरुलाई दुरुत्साहित हुने ढंगले कारबाही गरिनु गलत भएको भन्दै मन्त्री अथकले खेलाडीहरुलाई संरक्षण गर्नुपर्ने बताएका थिए।
क्यान र खेलाडीबीच देखिएको समस्या समाधानका लागि उपर्युक्त विधि अपनाउनुपर्ने बताउँदै मन्त्री अथकले खेल क्षेत्रमै आफ्नो उर्जावान समय खर्चिएका खेलाडीहरुलाई गरिएको कारबाहीले गलत सन्देश प्रवाह भएको भन्दै चिन्ता समेत व्यक्त गरे।
मन्त्री अथकले आगमी दिनमा हुन गईरहेका राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितालाई समेत मध्यनजर गर्दै तत्काल देखिएका समस्या समाधान गर्न क्यानका अध्यक्ष चतुरबहादुर चन्द सहितका पदाधिकारीहरुलाई निर्देशन समेत दिएका छन्। त्यसक्रममा मन्त्री अथकले खेलाडीहरुको वर्गीकरण प्रक्रियाका बिषयमा समेत चासो लिएका थिए।
गत बुधबार क्यानले राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीमाथि कारबाही गरेको थियो । उक्त निर्णयप्रति मन्त्री अथकले असन्तुष्टि जनाउँदै कारबाहीको निर्णयमाथी पुर्नविचार गर्न आग्रह गरेका हुन्।