इंग्ल्याण्डसँगको द एसेज सिरिजको दोस्रो खेलको पहिलो इनिङ्समा अष्ट्रेलिया बलियो स्थितिमा रहेको छ।
मार्नुस लाबुसेनको शतकप्रेरित अस्ट्रेलियाले एसेस शृंखलामा दोस्रो टेस्टको दोस्रो दिन पनि आफ्नो पकड कायमै राखेको छ। दोस्रो दिनको खेल सकिँदा इङ्ल्यान्ड ४५६ रनले पछि परेको छ।
अस्ट्रेलिया २२१–२ को स्थितिबाट दोस्रो दिनको सुरूआत गरेको थियो। मार्नुस लाबुसेन ९५ र स्टिभ स्मिथ १८ रनको स्थितिमा थिए।
लाबुसेनले दोस्रो दिन थप आठ जोड्दै १०३ रन बनाएर आउट फर्किए । स्मिथ सतक प्रहार गर्नबाट ७ रनले चुके।
यस्तै एलेक्स क्यारीले ५१ रन बनाउँदा माइकल नेसरले ३५, ट्रभिस हेडले १८ रन जोडे। मिचेल स्टार्क ३९ रनमा अविजित रहे। त्यसअघि डेभिड वार्नरले ९५ रन जोडेका थिए।
इङ्ल्यान्डका बेन स्टोक्सले तीन विकेट लिँदा जेम्स एन्डरसनले दुई विकेट हात पारे। स्टुवार्ट ब्रोड, क्रिस वक्स, ओली रोबिन्सन र जो रुटले एक एक विकेट लिए ।
अस्ट्रेलियाले ९ विकेट गुमाएर ४७३ रन बनाउँदा पहिलो इनिङ्स समाप्तिको घोषणा गरेको थियो। त्यसपछि ब्याटिङ गरेको इङ्ल्यान्डले १७ रन बनाउँदा दुई विकेट गुमाइसकेको छ। इङ्ल्यान्डका हसीव हमीदले ६ रन र रोरी बर्नस्ले चार बनाए।
दोस्रो दिन सकिँदा डेविड मालन एक र कप्तान जो रूट पाँच रन बनाएर क्रिजमा छन्।
पाँच खेलको सिरिजमा घरेलु टोली अष्ट्रेलियाले १-० को अग्रता बनाइसकेको छ। पहिलो खेलमा अष्ट्रेलिया ९ विकेटले विजयी भएको थियो।