क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले नेपाली राष्ट्रिय क्रिकेट खेलाडीको केन्द्रीय सम्झौताको वर्गीकरणको विषयलाई लिएर नेपाल क्रिकेट संघ (क्यान) र क्रिकेट खेलाडीबीचको विवादप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
सिप्यानका अध्यक्ष डा मनिषराज पाण्डे तथा महासचिव पारस खड्काले संयुक्त विज्ञप्ती जारी गर्दै खेलाडीमाथिको कारबाहीले क्रिकेट विकासमा अवरोध पुग्न सक्ने बताएका हुन्।
क्यानको बुधबार बसेको बोर्ड बैठकले खेलाडी वर्गीकरणको विषयमा मिडियामा असन्तुष्टि जनाएको भन्दै ज्ञानेन्द्र मल्ललाई कप्तान र दीपेन्द्रसिंह ऐरीलाई उपकप्ताबाट हटाएको थियो। साथै ज्ञानेन्द्र र दीपेन्द्रसहित अलराउन्डर सोमपाल कामी र तीव्र गतिका बलर कमलसिंह ऐरीलाई सन् २०२२ को पहिलो ६ महिना वर्गीकरणबाट पाउने रकम नदिने निर्णय गरेको थियो।
‘क्रिकेट खेलाडीहरूको योगदानको फलस्वरूप आजको दिनमा नेपाली क्रिकेटले विश्व क्रिकेट जगतमा विशेष पहिचान बनाउन सफल भएको कुरा सबैमा विदित नै छ। तथापि खेलाडीहरूले आफ्ना भावना तथा आवाजहरू अगाडि राख्न खोज्दा ती मागहरूको उचित सम्बोधन गर्नुको सट्टा खेलाडीहरू माथि नै गरिएका कारबाहीले नेपाली क्रिकेटको विकासमा अवरोध पुग्न जाने अवस्था सिर्जना भएको छ,’ सिप्यानको विज्ञप्तिमा भनिएको छ।
‘सिप्यानबाट गत वर्ष पनि क्यान तथा राष्ट्रिय खेलकुद परिषदलाई क्रिकेट खेलाडीसँग प्रत्यक्ष सरोकार राख्ने विषयवस्तुमा वर्गीकरण सम्बन्धी दिइएको सुझाव आज पनि उत्तिकै सान्दर्भिक देखिन्छ। वर्गीकरण जस्तो महत्वपूर्ण विषयवस्तुलाई पारदर्शी रूपमा निश्चित मापदण्ड तोकेर अवलम्बन गर्दै तर्कसम्मत र त्रुटी रहित बनाउन तथ्यपरक, वस्तुपरक र वैज्ञानिक बनाइनुपर्ने आवश्यकता पुनः दोहोर्याउन जरुरी देखिन्छ।
तसर्थ क्यान र खेलाडीहरूको बीचमा रहेको यस विषयसँग सम्बन्धित तिक्तता मेटाई खेलाडीहरूको मनोबल उच्च बनाई राख्न र समग्रमा नेपाली क्रिकेटको भलो हुने कदम उठाउनु पर्ने आवश्यकता टड्कारो रूपमा देखिएको छ।’