लखनऊ सुपर जायन्ट्सलाई १८ रनले हराउँदै रोयल च्यालेन्जर्स बेंगलोरल इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ।
१ सय ८२ रनको विजयी लक्ष्य पछ्याएको लखनऊले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६३ रन मात्र बनाउँदा शीर्ष स्थानमा उक्लने मौका गुमायो।
लखनऊका क्रुनाल पान्ड्याले सर्वाधिक ४२ रन बनाए। यस्तै कप्तान केएल राहुलले ३० रन बनाउँदा मार्कस स्टोइनिसले २४ रन जोडे।
ओपनर क्विन्टन डि कक ३ रनमा आउट भए पनि जासोन होल्डरले १६, आयुष बाडोनी र दिपक होडाले समान १३-१३ रन बनाए।
लखनऊलाई अन्तिम १२ बलमा जितको लागि ३४ रन चाहिँएको थियो। यस्तो अवस्थामा जोश हेजलवुडले १९ औं ओभरमा मार्कस स्टोइनिसलाई बोल्ड सहित ३ रन मात्र खर्चेपछि बेंगलोरको जित निश्चित भएको थियो।
बेंगलोरका जोश हेजलवुडले सर्वाधिक ४ विकेट लिए। यस्तै हर्षल पटेलले २ तथा मोहम्मद शिराज र ग्लेन म्याक्सवेल समान १–१ विकेट लिए।
त्यसअघि डिवाइ पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८१ रन बनाएको थियो।
बेंगलोरका लागि कप्तान फाफ डु प्लेसिसले सर्वाधिक ९६ रन जोडे। सतक प्रहार गर्नबाट ४ रनले चुकेका उनले ६४ बल खेल्दै ११ चौका र २ छक्का प्रहार गरे।
यस्तै शहबाज अहमदले २६ रन बनाउँदा ग्लेन म्याक्सवेलले २३ रन जोडे। दीनेश कार्तिक १३ रनमा अभिजित रहे।
लखनऊका दुश्मन्था चामिरा र जेसन होल्डरले समान २–२ विकेट लिए। क्रुणाल पाण्ड्याले १ विकेट हात पारे।
यो जितसहित बैंलोर ७ खेलमा ५ जितसहित १० अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ। समान अंक भए पनि रनरेटमा अघि रहेको गुजरात ६ खेलमा ५ मा जित र १ मा हार सहित १० अंकका साथ शीर्षस्थानमा छ।
यस्तै राजस्थान रोयल्स ६ खेलमा ४ मा जित र २ मा हार सहित ८ अंकका साथ तेस्रो स्थानमा छ । समान अंक भएको लखनऊ ७ खेलमा ४ मा जित र ३ मा हार सहित चौथो स्थानमा झरेको छ। हैदराबाद पनि ६ खेलमा ४ मा जित र २ मा हार सहित ८ अंक भए पनि नेटरनरेटको कारण पाँचौं स्थानमा पुगेको छ।
यस्तै कोलकाता नाइट राइडर्स ६ अंकसहित छैठौं स्थानमा रहँदा समान अंक भएको पन्जाब सातौं स्थानमा छ। ५ खेल खेलेको दिल्ली ४ अंकसहित आठौं स्थानमा छ। ६ खेलमा १ मा जित निकालेको चेन्नई नवौं र सबै ६ खेल गुमाएको मुम्बई पुछारमा छ।
आज दिल्ली क्यापिटल्स र पञ्जाब किङ्स खेल्दैछन्।