ओपनर डेविड वार्नर र पृथ्वी शाको आक्रामक ब्याटिङसँगै दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा पन्जाब किंग्समाथि ९ विकेटको फराकिलो जित निकालेको छ।
जितका लागि १ सय १६ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले मात्र १०.३ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो।
दिल्लीको जितमा डेविड वार्नर ३० बलमा १० चौका र १ छक्कासहित ६० रनमा अविजित रहे। यस्तै अर्का ओपनर पृथ्वी शाले २० बल खेल्दै ७ चौका र १ छक्कासहित ४१ रनमा आउट भए।
शरफराज खान १२ रनमा अविजित रहे।
पहिलो विकेटका लागि वार्नर र शाले ६.३ ओभरमा ८३ रनको आक्रमक ब्याटिङ गरेका थिए।
पञ्जावका राहुल चहरले १ विकेट हात पारे।
त्यसअघि ब्रेबोन स्टेडियम मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको पन्जाबले निर्धारित २० ओभरमा १ सय १५ रन बनाउँदै अल आउट भयो।
पन्जाबका लागि जितेश शर्माले सर्वाधिक ३२ रन बनाए। कप्तान मयंक अग्रवालले २४ रन बनाउँदा शाहरूख खान र राहुल चहरले समान १२-१२ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
शिखर धवन,जोनी बेयरस्टो र अर्षदीप सिंह समान ९–९ रनमा आउट भए। लियाम लिभिङस्टोन २ र कागिसो रबाडा २ रनमा आउट भए।
दिल्लीका लागि खलिल अहमद, ललित यादव, अक्षर पटेल र कुलदीप यादवले समान २–२ विकेट लिए। मुस्ताफिजुर रहमानले १ विकेट हात पारे।
यो जितसँगै दिल्ली क्यापिटल अंक तालिकाको छैठौं स्थानमा उक्लिएको छ।
समान ६ खेल खेलेको गुजरात ५ मा जित र १ मा हार सहित १० अंकका साथ शीर्षस्थानमा छ। बेंगलोर ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंकका साथ दोस्रो स्थानमा छ।
राजस्थान रोयल्स ६ खेलमा ४ मा जित र २ मा हार सहित ८ अंकका साथ तेस्रो स्थानमा छ। लखनऊ ७ खेलमा ४ मा जित र ३ मा हार सहित चौथो स्थानमा छ। समान अंक भए पनि हैदराबाद नेटरनरेटमा पछि पर्दै पाँचौं स्थानमा छ ।
सातौ स्थानमा झरेको कोलकाता नाइट राइडर्स र आठौं स्थानमा झरेको पन्जाबको समान ६-६ अंक छ।
६ खेलमध्ये १ मा जित निकालेको चेन्नई नवौं स्थनमा रहँदा ६ खेलमा अंकविहिन मुम्बई पुछारमा छ।
आजको खेलमा पुछारका दुई टोली मुम्बई र चेन्नई भिड्नेछन्।