एसिया कपको आफ्नो पहिलो खेलमा हङकङ भारतसँग ४० रनले पराजित भएको छ। यस खेलमा पहिले ब्याटिङ गरेको भारतले २ विकेट गुमाएर १९२ रन बनाएको थियो। १९३ रनको जवाफी लक्ष्य पछ्याएको हङकङले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५२ रन मात्र बनाउन सक्यो।
हङकङका लागि बाबर हयातले सर्वाधिक ४१ रन बनाए। उनीबाहेक टोलीका उपकप्तान किञ्चित शाहले पनि ३० रन बनाए। तर, यी दुवै खेलाडीले हङकङलाई हारबाट जोगाउन सकेनन्।
खेल हारे पनि खेलपछि उपकप्तान किञ्चितले दिल जितेका छन्।
खेल सकिएपछि उनी सिधै प्याराफिटमा गएर खेल हेरिरहेकी आफ्नी प्रेमिकालाई बोलाए। अलिकति घुँडा टेकेर उनले आफ्नो प्रेमिकाको हातमा हिराको औंठी लगाइदिँदै विवाहको प्रस्ताव गरे।
उनको यो सरप्राइजले प्रेमिका पनि छक्क परिन् र उनको प्रस्तावलाई स्वीकार गरिन्। किञ्चितले आफ्नी प्रेमिकालाई प्रपोज गरेको भिडियो स्टेडियमको ठूलो पर्दामा देखिएपछि दर्शक पनि खुसीले कराउन थालेका थिए।
यो दृश्य देखेर हङकङको सम्पूर्ण टिमले उत्साहका साथ ताली बजायो। कमेन्टेटर गौतम गम्भीर, सञ्जय बांगर र शो होस्ट जतिन सप्रु पनि ठूलो पर्दामा दृश्य हेर्दै थिए। सबै मन्त्रमुग्ध भए ।
भारतीय मुलका किन्चितको जन्म मुम्बईमै भएको हो। उनी ३ महिनाको हुँदा परिवारसहित हङकङ गएका थिए। आफ्ना बुवाले क्रिकेट खेलेको देखेपछि १० वर्षको उमेरमै उनले लेदर बलबाट क्रिकेट खेल्न सुरू गरेका थिए।
उनका बुबा देवाङ शाह हिरा व्यापारी हुन्। उनको धेरै देशमा हीराको व्यवसाय छ। यससँगै उनी क्रिकेटमा पनि निकै रूचि राख्छन्। उनले हङकङमा क्रिकेट क्लब पनि चलाएका छन्। हङकङको टी–२० ब्लिट्ज प्रतियोगिताको एउटा टोलीका मालिकसमेत हुन्।
क्रिकेट खेल्नुका साथै किञ्चित पारिवारिक व्यवसाय पनि सम्हाल्छन्। अन्तिम पटक सन् २०१८ को एक दिवसीय एसिया कपमा भारतविरूद्ध खेल्दा पनि उनले राम्रो प्रदर्शन गरेका थिए।
उक्त खेलमा किञ्चितले बलिङ गर्दै ९ ओभरमा ३९ रन दिएर ३ विकेट लिएका थिए। तर, त्यो खेल हङकङले २६ रनले गुमाएको थियो। भारतले दिएको २८५ रनको लक्ष्य पछ्याएको हङकङ २५९ रनमा समेटिएको थियो।