सिंगापुरका अलराउन्डर टिम डेविडलाई समेट्दै अष्ट्रेलियाले विश्वकप टी-२० खेल्ने खेलाडी घोषणा गरेको छ।
आगामी अक्टोबरको अन्त्यमा सुरू हुने प्रतियोगिताका लागि अष्ट्रेलियाले बुधबार राति टोली घोषणा गरेको हो।
यस वर्षको इन्डियन प्रिमियर लिग लिलामीमा मुम्बई इन्डियन्सले ८.२५ करोडमा खरिद गरेपछि डेविडले अस्ट्रेलियाबाट खेल्ने मौका पाएका हुन्।
सिंगापुरमा जन्मिए पनि डेविड अष्ट्रेलियन क्रिकेटर हुन्। उनले अष्ट्रेलियन युनिभर्सिटीका साथै वेस्टर्न अष्ट्रेलियाको यू-२३ र वेस्टर्न अष्ट्रेलिया-११ बाट समेत क्रिकेट खेलेका छन्। २६ वर्षका उनले २ वर्ष अगाडिको सिजनमा पर्थ स्कोर्चसबाट बिग ब्यास लिग खेलेका थिए।
तर टी-२० विश्वकपको एसिया फाइनल अगाडि उनले आफू जन्मिएको देश सिंगापुरबाट खेल्ने निर्णय गरे। क्लोज क्याम्प हुँदै एसिया फाइनल खेल्ने टिममा पर्न सफल भए।
उनले कतारविरुद्ध डेब्यू गर्दै ३८ रन बनाएका थिए। मलेसियाविरुद्ध भने चलेनन्। मात्र १४ रनमा आउट भए । तर नेपालविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै उनले ७७ रन बनाए।
डेविडले सन् २०१९ र २०२० मा सिंगापुरका लागि १४ टी–२० खेल खेलेका थिए। जसमा ४६.५ औसतमा उनले ५५८ रन बनाएका थिए।
अष्ट्रेलियाको टोली आगामी सेप्टेम्बरमा तीन टी-२० अन्तर्राष्ट्रिय खेल खेल्न भारतको यात्रा गर्नेछ र अक्टोबर २२ मा सिड्नी क्रिकेट मैदानमा अष्ट्रेलियाले न्यूजील्याण्ड विरूद्ध खेल्दै विश्वकप सुरू गर्ने छ।
अष्ट्रेलियाको टिम छनोटकर्ताका अध्यक्ष जर्ज बेलीले टिम डेविड विश्वभरका लिगहरूमा गुणस्तरीय प्रदर्शन गर्दै आफूलाई स्थापित गरेकाले टोलीमा स्थान बनाएको बताए। उनी एक उच्च प्रतिभावान अलराउण्डर भएको बेलीले बताए।
अनुभवी ओपनर डेविड वार्नरले क्रिकेटको व्यस्त तालिकाले भारतविरूद्धको तीन टी-२० खेल गुमाउने छन्। उनको स्थानमा युवा अलराउन्डर क्यामरून ग्रीनले अष्ट्रेलियाको प्रतिनिधित्व गर्नेछन्।
टी-२० विश्वकपको फाइनल नोभेम्बर १३ मा मेलबर्न क्रिकेट मैदानमा हुनेछ। समूह १ मा अफगानिस्तान, अष्ट्रेलिया, इङ्ल्यान्ड, न्युजिल्यान्ड र छनोटबाट आएका दुई टोली खेल्नेछन्।
यस्तै समूह २ मा बंगलादेश, भारत, पाकिस्तान र दक्षिण अफ्रिका र छनोटबाट आएका दुई टोलीले खेल्नेछन्।
आठ टोलीको छनोट प्रतियोगिता मुख्य खेल भन्दा पहिले हुन्छ। छनोट समूहको एमा नामिबिया, नेदरल्यान्ड्स, संयुक्त अरब इमिरेट्स र श्रीलंका छन् भने बीमा आयरल्यान्ड, स्कटल्याण्ड, वेस्ट इन्डिज र जिम्बाब्वे छन्। प्रत्येक समूका शीर्ष दुई टोलीहरू मुख्य प्रतियोगितामा पुग्नेछन्।
अष्ट्रेलियाको टोलीः आरोन फिन्च (कप्तान), एस्टन आगर, प्याट कमिन्स, टिम डेविड, जोस हेजलवुड, जोस इन्ग्लिस, मिचेल मार्स, ग्लेन म्याक्सवेल, केन रिचर्डसन, स्टिभ स्मिथ, मिचेल स्टार्क, मार्कस स्टोइनिस, म्याथ्यू वेड, डेविड वार्नर र एडम जाम्पा।