फ्रेन्च लिग वान फुटबलको लिग लिडर पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले नेइमार बिना पनि आफ्नो अपराजित यात्रा कायमै राखेको छ।
लिग अन्तर्गत शुक्रबार राति घरेलु मैदानमा भएको खेलमा पिएसजीले निसलाई ३–० ले हराउँदै प्रभावशाली विजयी यात्रा जारी राखेको हो।
कीर्तिमानी मूल्यसहित बार्सिलोनाबाट पिएसजी गएका नेइमार बिना खेलेको पिएसजीका लागि एडिसन काभानीले दुई गोल गरेका थिए।
लिग अन्तर्गत यसअघि भएको मार्सेइलीसँगको खेलमा रातो कार्ड खाएका कारण नेइमार यो खेलमा मैदान बाहिर बसेका हुन्।
खेलको तेस्रो मिनेटमै काभानीले गोल गर्दै पिएसजीलाई सुरुवाति अग्रता दिलाएका थिए पहिलो हाफकै ३१ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै काभानीले अग्रता दोब्बर पारे।
पहिलो हाफमा २–० को अग्रता लिएको पिएसजीले दोस्रो हाफमा एउटा उपहार गोल पायो। खेलको ५२ औं मिनेटमा निसका डान्टेले आत्मघाती गोल गरेपछि पिएसजी ३–० ले विजयी भयो।
गएको सिजन तेस्रो भएको निसका लागि यो सिजनमा ११ खेलमध्ये यो सातौं हार हो। यस्तै ११ खेलमा अपराजित लिग लिडर पिएसजीको दुई खेलमा बराबरी तथा ९ खेल जितहसित २९ अंक भएको छ।
एक खेल कम खेलेको मोनाको पिएसजीभन्दा सात अंकले पछि छ।