एएफसी यू–१९ च्याम्पियनसिप छनोटको लागि नेपाली युवा फुटबल टोलीको घोषणा भएको छ । किर्गिस्तानमा आयोजना हुने प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ एन्फाले अर्पण कार्कीको नेतृत्वमा २३ सदस्यीय नेपाली टोलीको शनिबार घोषणा गरेको हो ।
गत महिना भुटानमा सम्पन्न साफ यू – १८ फुटबल च्याम्पियनसिपको उपाधि जित्ने टोलीका अधिकांस सदस्यहरु नेपाली टोलीमा परेका छन् ।
नेपाली टोलीमा कप्तान अर्पणसहित उपकप्तानमा प्रिजन तामाङ रहेका छन्। त्यस्तै टोलीमा अविशेक बराल, विश्व उदास, विकास खवा,राजन गुरुङ, सुमन अर्याल, निराजन महर्जन,रोमन लिम्बु, अशोक थापा, दिनेश हेन्जन र अविशेक रिजाल छन्।
अनिल महर्जन, सेसेहाङ आङदेम्बे,आकाश श्रेस्त, एरिक बिष्ट, रेजीन सुब्बा, धिराज श्रेष्ठ,सुरज ठकुरी,राजेश परियार, मनिष थापा र सोजित गुरुङ टोलीमा अटाएका छन्।
नेपाली टोलीको मुख्य प्रशिक्षकमा छिरिङ लोप्सङ, प्रशिक्षकमा पुस्कर शाह र गोलकिपर प्रशिक्षकमा मृगेन्द्र मिश्र रहेका छन् । नेपाली टोली आइतबार त्यसतर्फ जाने छन् ।
आगामी मंगलरबारबाट सुरु हुने छनोटमा नेपाल कठिन मानिएको ‘समुह ए’ मा छ । नेपालको समूहमा किर्गिस्तान, ओमान, युएई र बहराइन छन् । पहिलो खेल नेपालले आयोजक किर्गिस्तानसँग मंगलबार खेल्ने छ। त्यस्तै नेपालले कात्तिक १६ मा बहराइन, कात्तिक १८ मा युएई र कात्तिक २२ मा ओमानसँग खेल्नेछ।
छनोटमा समूहको शीर्ष स्थानमा रहने टीम फाइनल चरणको लागि छानिनेछन्। त्यस्तै दोस्रो हुने मध्ये उत्कृष्ट ५ टीम र आयोजक पनि फाइनल चरणका लागि छनोट हुनेछ। फाइनल चरणमा पुग्ने टोलीले सन् २०१८ मा आयोजना हुने एएफसी यू–१९ च्याम्पियनसिपमा सहभागिता जनाउन पाउनेछन्।