च्याम्पियन्स लिगको समूह चरणको खेलमा ग्रीसको ओलम्पियाकोसले बार्सिलोनालाई गोलरहित बराबरीमा रोकेको छ। पछिल्लो ५ वर्षको अवधिमा बार्सिलोना पहिलो पटक च्याम्पियन्स लिगको समूह चरणको खेलमा गोल गर्न चुकेको हो।
अवे मैदानमा मंगलबार राति भएको खेलमा लुइस सुआरेजले प्रहार गरेको बले क्रसबारमा लागेर फर्किएपछि बार्सिलोना गोल गर्नबाट बञ्चित भएको हो। यस्तै मेसीको प्रहार पनि पोष्टको दिशा लिन नसकेपछि खेल गोलरहित बराबरीमै रोकियो।
सुआरेजले यो सिजनको च्याम्पियन्स लिगको अहिलेसम्मको कुनै पनि खेलमा गोल गर्न सकेका छैनन्। यद्यपी ओलम्पियाकोससँग अंक बाँडेको बार्सिलोना दुई खेल खेल्न बाँकी छदै नकआउट चरणका लागि छनोट भएको छ।
समूह ‘डी’ मा रहेको बार्सिलोना युभेन्ट्सभन्दा ३ अंकले माथि रहँदै शीर्षस्थानमा छ। युभेन्ट्स पनि मंगलबार रातिको खेलमा स्पोटिङ लिस्बन विरुद्ध १–१ गोलमा रोकिएको थियो। बार्सिलोनाको ४ खेलबाट १० अंक भएको छ।