इटालियन क्लब नेपोलीलाई फराकिलो अन्तरमा हराउँदै म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ।
समूह ‘एफ’ अन्तर्गत बुधबार राति भएको खेलमा सिटीले नेपोलीलाई ४–२ गोल अन्तरले हराउँदै अन्तिम १६ मा स्थान पक्का बनाएको हो। सिटीको जितमा निकोलास ओटामेन्डी, जोन स्टोन्स, सर्जियो अग्युरो र रहिम स्ट्रर्लिङले गोल गरे। नेपोलीका लागि इनसिग्ने र फ्रेल्लो फिल्होले गोल फर्काए।
नेपोलीले खेलको २१ औं मिनेटमा इनसिग्नेको गोलबाट सुरुवाती अग्रता लिए पनि जोगाउन सकेन। ३४ औं मिनेटमा ओटामेन्डीले सिटीका लागि बराबरी गोल फर्काएका थिए। पहिलो हाफमा १–१ बराबरीमा सकिएको खेलमा दोस्रो हामफमा नेपोलीमाथि सिटी हाबी भयो।
दोस्रो हाफमा ३ गोल थपेको सिटीका लागि ४८ औं मिनेटमा स्टोन्सले गोल गरे। खेलको ६२ औं मिनेटमा फिल्होले पेनाल्टी मार्फत गोल गर्दै फेरि खेललाई बराबरीमा ल्याए।
त्यसको एक मिनेटपछि नै अग्यूरोले गोल गर्दै सिटीलाई फेरि अग्रता दिलाए । इन्जुरी समयमा स्ट्रर्लिङले गोल गरेपछि सिटी ४–२ विजयी भयो। यो खेलमा गोल गरेका अग्युरो म्यानचेस्टर सिटीका सर्वाधिक गोलकर्तासमेत भएका छन्। उनले सिटीका लागि २ सय ६४ खेलमा १ सय ७८ गोल गरेका छन्।
आफ्नो अपराजित यात्रालाई कायम राखेको सिटी १२ अंकसहित थप दुई खेल खेल्न बाँकी रहँदै नकआउट चरणमा प्रवेश गरे पनि नेपोलीको दोस्रो चरणमा प्रवेश गर्ने सम्भावना लगभग समाप्त भयो। ४ खेलबाट नेपोलीको ३ अंक मात्र छ।
यही समूहको अर्को खेलमा साक्टर डोनेस्कले फेनुर्डलाई ३–१ गोलले पराजित गर्ने क्रममा अंक तालिकामा ९ अंक जोडिसकेको छ। डोनेस्कलाई अघिल्लो चरण प्रवेशका लागि २ खेलबाट एक अंक जुटाए पुग्ने छ।